विश्व वातावरण दिवसमा कृषि विकास बैंकद्वारा भक्तपुरको बोडेमा वृक्षारोपण
२२ जेठ, काठमाडौं।
कृषि विकास बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसर पारेर विभिन्न फलफूलका प्रजातिका १०० वटा बिरुवा रोपेर वातावरण दिवस मनाएको छ।
यस वर्ष ‘सुरक्षित भविष्यका लागि स्वच्छ वातावरण एवं प्रकृति जोगाऔँ र भविष्य बचाऔँ’ भन्ने मुख्य नाराका साथ बैंकले आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान, भक्तपुर बोडे परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रमको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द गुरुङले बिरुवा रोपेर गरेका थिए। वृक्षारोपण कार्यको शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत गुरुङले प्रकृतिको संरक्षण र स्वच्छ वातावरण निर्माणमा बैंक सधैं प्रतिबद्ध रहेको बताए।
बैंकका अनुसार सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरू प्रताप सुवेदी, मिनराज पोखरेल र सुशिल हुँमागाईको उपस्थिति रहेको थियो। त्यसैगरी मार्केटिङ्ग एण्ड सेल्स विभागकी विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, केन्द्रीय तालिम प्रतिष्ठानकी निर्देशक सरीता दहाल, वरिष्ठ शाखा प्रमुख भोला नेपाल लगायत बैंकका अन्य कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी कर्मचारीहरूले सामूहिक रूपमा विभिन्न प्रजातिका फलफूलका बिरुवाहरू रोपेका थिए।
वातावरणीय समस्याप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन ५ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कृषि विकास बैंकले वातावरण संरक्षण र प्रवर्द्धनका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बैंकले जनाएको छ।
For More:-ADBBL Tree Pantation Drive



