काठमाडौं । ‘२४ औं सुविसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ काठमाडौंस्थित भृकुटीमण्डपमा हुने भएको छ । आयोजक क्यान महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला माघ ११ देखि १६ गतेसम्म हुने जानकारी गराएको छ । मेलाको शिर्ष प्रायोजक सुविसु केबलनेट तथा एशोसिएट प्रायोजक मोटोरेला नेपालको आधिकारीक बिक्रेता लाईफकम रहेको छ ।


महासंघका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने बताए । “एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ–नयाँ प्रविधि राखिएको मेलामा अवलोकनकर्ताहरुले सो प्रविधिको अवलोकन तथा गरिद गर्न सक्नेछन्,” उनले भने, “विभिन्न स्थानहरुमा सूचना सञ्चार प्रविधिका जम्मा २२२ वटा स्टलहरु प्रदशनी हुने मेलामा हालसम्म मुख्य प्रदर्शनहल भित्रको शतप्रतिशत स्टल र ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ भइसकेको छ ।” आयोजकका अनुसार मेलामा विषेश गरी विजनेश हाउसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नेछन् ।
मेलामा सुविसुको नविनतम सेवाहरु मोटोरोलाका फोनहरु, नेपाल टेलिकमका फोरजी प्रविधि लगायतका सम्बन्धमा प्रदर्शनी तथा जानकारी गर्ने बताइएको छ । साथै ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई मेलाले विशेष जोड दिएको महासंघका महासचिव बलामीले जनाए । “नेपाल सरकारले देशको प्रमुख सहरहरुमा अनिवार्य रुपमा लागु गरेको डीजीटल टीभी ट्रान्समीशनको जानकारी गराइनेछ । साथै साईबर क्राइम, त्यसका चुनौती, रोकथाम लगायतको सम्बमा मेत ग्राहक तथा अवालेकनकर्तालाई बुझाइनेछ,” उनले भने ।
आयोजकले सर्वसाधारणलाई मेला प्रवेश शुल्क सय रुपैयाँ र विद्यार्थीको लागि ५० रुपैयाँ तोकेको छ ।
त्यस्तै सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहित नामावलीका आधारमा आए सम्बन्धीत विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेश गराउने व्यवस्था गराइएको आयोजकको भनाइ छ ।