सगुनका संस्थापक भन्छन् -सन् २०१८ सम्म कुल मूल्यांकन १ बिलियन डलर पुर्‍याउँछौ

सगुनका संस्थापक गिरी भन्छन् -सन् २०१८ सम्म कुल मूल्यांकन १ बिलियन डलर पुर्‍याउँछौ

किशन गौतम सोल, जेठ ९

सामाजिक सञ्जाल सगुनका संस्थापक गोविन्द गिरीको प्रत्यक्ष उपस्थितिमा  दक्षिण कोरियाका रहेका लगानीकर्तासँग वृहत अन्तरक्रिया भएको छ। गत मार्च ३० तारिखदेखि बन्द गरिएको पहिलो चरणको सेयर लगानीमा कोरियामा रहेका नेपाली संख्यात्मक हिसाबले विश्वकै दोस्रो स्थानमा रहेको भन्दै सेयर लागानीकर्तासँग प्रत्यक्ष भेटघाट तथा छलफलको लागि संस्थापक गिरी लागयतको टोली अस्ट्रेलिया, लन्डनहुँदै शनिबार दक्षिण कोरिया आइपुगेको हो।

गत आइतबार राजधानी सोलमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्थापक गिरीले सगुनको दोस्रो चरणको लागानीको तयारी लगभग पुरा भएको बताए। पहिलो चरणको लागानीमा कोरियामा रहेका नेपालीको उल्लेख्य सहभागिता रहेको भन्दै दोस्रो चरणको लगानीको लागि पनि उत्साहजनक सहभागिता रहनेमा आफू ढुक्क रहेको बताए।  लगानी कर्ताहरूको साथ र  सहयोग यथावत रहेमा   सन् २०१८को अन्त्यसम्म कम्पनीको कुल सेयर मुल्यांकन १ बिलियन अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको बताउँदै स्टार्ट अप कम्पनीमा लगानीको अबसर बिरलै पाइने हुनाले अवसरको सदुपयोग गर्न सबैलाई आव्हान गरे।

लगानीकर्ताबाट उठेका  सवालको जवाफ दिदै गिरीले केही मिडियाले सगुनको बारेमा भ्रामक प्रचार गरेको भन्दै अमेरिकाको कानुन अनुसार दर्ता बिना कुनै पनि कम्पनी एकैछिन पनि टिक्न नसक्ने बताए। उनले भने, ‘वर्षको २ पटक कम्पनीको नाफा, घाटा तथा लगानीको सम्पूर्ण हिसाब किताब अमेरिकी सरकारलाई बुझाउनुपर्ने हुन्छ। विश्वका ६१ राष्ट्रबाट सेयर लगानी भएको यति ठूलो कम्पनि बिना अनुमति चलेको छ भन्नु भ्रम मात्रै  हो। त्यस्तै सगुनमा मेरो मताधिकार मात्र ९५ प्रतिशत हो सेयर ९५ प्रतिशत होइन।’

त्यस्तै कम्पनीका सह-संस्थापक कबिन सिटौला तथा ब्यवस्थापक पर्शु तिमल्सिनाले सगुन कसरी यहाँसम्म आइपुग्यो र यो कस्तो रफ्तारमा हिँडिरहेको छ भन्ने बारे स्पस्ट पार्दै कोरियामा रहेका नेपालीलाई दोस्रो चरणको सेयरमा लगानी गर्न आब्हान गरे।

कार्यक्रममा सोलस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत किरण शाक्यले अधिकांश  लगानीकर्ता नेपाली भएको कारण कम्पनीको नेपाल सरकारसँग कहिँ कतै सम्बन्धन रह्यो भने आफ्नो लगानीको थप सुरक्षाको अनुभूति गर्ने हुनाले उत्साहजनक रुपामा लगानी बढेर जान सक्ने आसय व्यक्त गरे।

सन् २०१४ जुलाई ६ तारिख अमेरिकाको वासिंगटनबाट खोलिएको सामाजिक सञ्जाल सगुनले मिनी आइपिओ मार्फत लगानी गर्ने अवसर जुटाउँदै आएको छ। हालसम्म ६१ देशबाट ३ हजार ४ सय ४६ जनाले सेयर लगानी गरिसकेका छन्। लगानीकर्ता अधिकांश नेपाली छन्। गत मार्च ३० तारिखदेखि पहिलो चरणको लगानी बन्द गरेको सगुनले दोस्रो चरणको सेयर  छिट्टै खोल्ने बताएको छ। दोस्रो चरणमा सर्बसाधारणले १ हजार डलर वा सोभन्दा माथि लगानी गर्न पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here