“स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” को औपचारिक शुरुवात्

सहरी समस्याको प्रविधिमा आधारित समाधान खोज्ने प्रयासमा महानगर

काठमाडौं । विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले बुधबारबाट “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” कार्यक्रम शुरु गरेको छ । समुदाय तथा वातावरण, सहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन ४ क्षेत्र प्रतिस्पर्धाका मुख्य विषय हुन् । अवसरको अभावका बिकल्प सोचेर बसिरहेका युवाहरुलाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउन उद्यमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्मका रुपमा कार्यक्रम शुरु गरिएको हो । “हाम्रो काठमाडौं, हामी बनाउँछौं” नारा दिइएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” को शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — “काठमाडौं च्यालेन्ज डट ओआरजि” वेभपेज सार्वजनिक गर्नुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख शाक्यले भन्नुभयो — हामीले अधिकांश समय स्मार्ट शव्दको प्रयोग गरिरहेका हुन्छौं । यो शव्द सहर बनाउने कुरामा मात्र होइन, व्यक्ति—व्यक्तिमा पनि स्मार्टनेसको कुरा आउँछ । धेरै समयको तयारी पछि सहरी समस्याको समाधान खोज्न सहरी योजना आयोगमार्फत नयाँ सोचको खुल्ला छलफल गर्ने थलो बनाएका छौं । यसले विकासमा सहभागिता, साझेदारिता बढाउँछ र प्राप्त उपलब्धीमा दायित्व बोध गराउँछ । प्रमुख शाक्यले — सहरी समस्या समाधानमा यसो गर्न पाए हुन्थ्यो वा म त्यो ठाउँमा पुगेको भए यसो गर्थें भनेर सोच्नेहरुलाई सोच लिएर आउन आग्रह गर्र्नुभयो । कार्यक्रममा बोल्ने क्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — महानगरको कार्यक्रमले युवाहरुलाई देशमै केही हुन थाल्यो भन्ने सन्देश सञ्चार हुने विश्वाश व्यक्त गर्नुभयो । हामी जिम्मेबार भएर काम गर्न खोजिरहेका छौं, उपप्रमुख श्रेष्ठ खड्गीले थप्नुभयो — हाम्रो काममा सहभागी हुन चाहने सबैलाई खुल्ला आमन्त्रण गर्दछौं ।

प्रतिस्पर्धामा सहभागी हुन नेपाली नागरिक हुनुपर्छ, ऊ स्वदेश वा विदेश जहाँबाट भए पनि भाग लिन सक्छ । सहभागिताका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले — सरकारी तहबाट यो पहिलो प्रयास भएको उल्लेख गर्नुभयो । संघ सरकारले पनि यसप्रकारका कामका लागि रकम छुट््याएको छ । त्यसको कार्यान्वयनका लागि पनि महानगरको प्रयास सिकाइ बन्न सक्छ, यहाँको भनाइ थियो ।

यस प्रकारका प्रतिस्पर्धाहरु निजी क्षेत्रबाट अभ्यास भएका छन् । बिदेशमा पनि यस्ता कार्यक्रम आयोजना हुन्छन् । तर हामी बिदेशी ढाँचाको होइन नेपाली समाज, यहाँको भूगोल र आवश्यकता अनुसारका सोच चाहन्छौं, कार्यक्रममा महानगरको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतको भनाइ थियो । प्रतिस्पर्धाबाट साधारण तर नौला र केही जटिल तर सम्भब हुने गरी दुई किसिमका प्रविधिहरुको अपेक्षा गरिएको छ, सदस्य सचिव बस्नेतको भनाइ थियो । प्रतिस्पर्धाको शुरुवात्मा एउटै समूहले धेरै सोच दर्ता गर्न सक्छन् । पछि एउट समूहको दुई वा त्योभन्दा धेरै सोच छनौटमा परे भने उनीहरुले अन्त्यमा एउटा मात्र सोच रोज्नुपर्छ । यङ् इनोभेसन्सका प्रमुख कार्यकारी अधिकृत विभुषण बिष्टले जानकारी दिनुभयो । यस प्रतिस्पर्धामा इनोभेसन्ससँगै नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, दायित्व, अन्तर प्रेरणा, ग्लोवल इन्टरप्रेनरसिप नेटवर्क, कारखाना र किन्स कलेज नोलेज पार्टनरका रुपमा सहभागी छन् ।

प्रतिस्पर्धाका चरण

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ । महानगरले प्रतिस्पर्धाबाट यसप्रकारका प्रतिफलको अपेक्षा गरेको छ । त्यस्तै महानगरपालिकाले प्रदान गर्ने सेवामा चुस्तता एवं पारदर्शिता कायम हुने र सामाजिक न्यायमा आधारित सुविधा वितरणमा सहयोग पुग्ने आशा गरिएको छ ।

प्रतिस्पर्धाका मूख्य ४ विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा प्रतिस्पर्धीले नविन सोच प्रस्तुत गर्नेछन् । ६ चरणमा सम्पन्न हुने प्रतिस्पर्धामा सोच छनौट गर्दा बिषयको महत्व, उत्पादन क्षमता, ब्यवसायिक नमूना, बिस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानिएको छ । तोकिएको मापदण्ड अनुसार मुल्यांकन गरी कुल अंकमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने समूह बिजेता बन्नेछ ।

पहिलो चरणमा कम्तीमा १०० वटा नविन सोच भएका युवाहरुको समूहहरुलाई छनौट गरि बिज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिइनेछ । तीमध्ये ४ विषयका २४ समूह प्रतिस्पर्धी अन्तिम चरणमा पुग्नेछन् । उनीहरुलाई प्रदान गरिने विशिष्ट प्रकारको तालिमबाट सोचमा निखार ल्याइनेछ ।

सोच आउँदो पुष ३० गतेभित्र वेभपेजमार्फत दर्ता भइसक्नुपर्नेछ । यो प्रतिस्पर्धा ६ महिना लामो हुनेछ ।

पुरस्कार

उत्कृष्ट सोचलाई अर्थात् च्यालेन्जको विजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here