सुरक्षित घरका लागि मोवाइल एप्लिकेशन

मदन पौड्याल

काठमाडौं, वैशाख २८ – तपाईंले चलाउँदै आएको मोबाइल सुरक्षित घरका लागि पनि काम लाग्ने भएको छ । भूकम्प थेग्ने बलियो घर बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षित घर मोवाइल एप्लिकेशन ल्याएको छ । यो एप्लिकेशनले घर पुनर्निर्माण र नवर्निर्माणका लागि प्राविधिक र जनचेतनाको काम गर्नेछ ।

यो एप देशभरि नै निशुल्क उपलब्ध छ । तर भूकम्प प्रभावितका लागि भने बढी लाभदायक हुनेछ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्केका घर अहिले बन्दैछन् । भूकम्प प्रभावित जिल्लामा भत्केका घर बनाउने कामले गति लिन नसकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचना र प्रविधिलाई जतिसक्दो प्रयोग गर्न थालेको छ । रेडियो, पत्रपत्रिकाबाट भूकम्प प्रतिरोधी घर बनाउन सूचना/सन्देश दिँदै आएको प्राधिकरणले मोवाइल एप्लिकेशन पनि सार्वजनिक गरेको हो ।

एपको माध्यमबाट भूकम्प प्रतिरोधी घर निर्माण, प्राधिकरणका सन्देश, आवश्यक अडियो/भिडियो र पुनर्निर्माण प्राधिकरणसँग सम्बन्धित नीतिगत जानकारी मोबाइलमै लिन सकिने भएको छ । साथै यो एपबाट भूकम्प प्रतिरोधक भवन निर्माणबारे सुचना, सुझाव र घरका नक्सा पनि प्राप्त गर्न सकिन्छ ।

विल्ड चेन्ज नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोग र प्राधिकरणको समन्वयमा एप आएको हो । एपमा घरका डिजाइन, तालिमप्राप्त जनशक्ति र विभिन्न निकायबाट खटिएका प्राविधिक इन्जिनियरको सूची पनि समावेश गरिएको एप इन्चार्ज एवम् विल्ड चेन्जमा जियोम्याट्रिसियनका रुपमा कार्यरत उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

स्मार्ट मोवाइल सेटमा एकपटक डाउनलोड गरिसकेपछि इन्टरनेटबिना समेत चलाउन मिल्छ । एप प्रयोगकर्ता भूकम्प प्रभावितले आफूलाई लागेका जिज्ञासा र अलमल सजिलै पठाउन सक्छन् । अनि ति समस्या र जिज्ञासाको उत्तर स्ट्रक्चरल इन्जिनियर, सिविल इन्जिनियर र आर्किटेक्टको प्राविधिक टोलीले दिनेछ । प्राधिकरणले जारी गरेका नितिनियमको घेराभित्र रहेर सुरक्षित घर, अनुदान, निर्माण शैली लगायतको जानकारी दिने हो ।

नेपाली र अंग्रेजी भाषामा उपलब्ध एप गुगल प्लेस्टोरमा गएर सुरक्षित घर सर्च गरी मोवाइलमा इनस्टल गर्न सकिन्छ । जहाँ सुरुमै घर बनाउँदै गरेको फोटो पनि देखिन्छ । स्मार्ट मोवाइल सेटमा सुरुमा डाउनलोड गर्न इन्टरनेट आवश्यक भएपनि पछि चलाउन भने नेट नभएपनि हुने इन्चार्ज पुडासैनीले बताउनुभयो ।

घर बनाउन प्राधिकरणले बेला बेला दिने सूचना प्रभावित सम्म पुग्नु आवश्यक हुन्छ । यो प्रक्रियामा हुने अलमललाई एपले थोरै भएपनि हटाउनेछ । प्रभावितले मोवाइलबाटै फोन गरेर अथवा फर्म भरेर पनि समस्या सोध्न सक्छन् । मोवाइलबाट म्यासेज लेख्न नसक्ने भए १६६००११९८७६ फ्रि नम्वरमा फोन गर्न सक्छन् ।

भूकम्पले भत्किएका घर बन्न नसकेका बेला प्राधिकरणले मोवाइल एप्लिकेशन बनाएको हो । भूकम्प प्रतिरोधी घरको डिजाइनका बारेमा प्रभावित अनविज्ञ देखिएपछि सही सूचना दिने गरी मोबाइल एप सेवा ल्याउनु परेको प्राधिकरणले जनाएको छ । दोहोरो सूचना र संचारको काम गर्ने यो एपले मोवाइल र इन्टरनेटको पहुँचमा रहेका भूकम्प प्रभावित र प्राधिकरणलाई जोड्न सक्छ ।

‘भूकम्प प्रभावित सबैसँग स्मार्ट मोवाइल र इन्टरनेटको पहुँच भने छैन, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल भन्नुहुन्छ,‘एप्स सबै प्रभावितका लागि सहज नभएपनि प्राधिकरणले सकेसम्म सुचना र जानकारी पुर्‍याउन पत्रपत्रिका, रेडियो, टेलिभिजन, पोस्टर पम्पलेट जस्ता सामग्रीको पनि प्रयोग गरेको छ ।

Source: Source

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here