सिंगापुर सरकारले सरकारी कर्मचारीलाई इन्टरनेटमा प्रतिबन्ध लगाउने

सिंगापुर सरकारले त्यहाँका सरकारी कर्मचारीलाई कार्यालयमा इन्टरनेट चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।अर्को बर्षको मे महिनापछि सरकारी कार्यालयका कम्प्युटरमा इन्टरनेट ब्लक गरिने त्यहाँको सरकारलाई उदृत गर्दै स्ट्रेट टाइम्स दैनिकले जनाएको छ । सरकारी कार्यालयका कम्प्युटरमा रहेका गोप्य एवं संबेदनशील कागजातहरु चुहिने डरले सरकारले यस्तो प्रतिबन्ध लगाएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार सरकारी कर्मचारीलाई कार्यालयका कुनैपनि डकुमेन्ट निजी इमेलमा फरवार्ड गर्न पनि प्रतिबन्ध लगाइएको छ । तुलनात्मकरुपमा संबेदनशील कागजातहरुसँग सम्बन्ध नभएका सरकारी शिक्षकहरुलाई पनि यही नियम लागू गर्ने तयारी भइरहेको बताइएको छ ।

सरकारले त्यहाँको सूचना तथा प्रबिधि बिभागले सवै मन्त्रालय र सरकारी कार्यालयहरुलाई इन्टरनेट प्रतिबन्धसम्बन्धी निर्देशन पठाइसकेको छ । इन्टरनेट प्रतिबन्ध लगाउँदा साइबर आक्रामणबाट बच्न सकिने र सरकारी कार्यालयलाई सुरक्षित बनाउने दावी गरेको छ । सरकारको नयाँ नियमप्रति स्थानीय जनताले भने आश्चर्य प्रकट गरेका छन् । सरकारको यस्तो निर्णयले उ आफैैले निकै प्रर्बद्धन गरेको ‘स्मार्ट नेशन’ योजनामा चिसो पानी खन्याइदिने उनीहरुको बुझाई छ । सरकारको नयाँ नियमले झण्डै एक लाख इन्टरेनट जडित सरकारी कम्प्युटर अब इन्टरनेटबिहीन हुनेछन् । बीबीसीका अनुसार तत्कालै केही संबेदनशील कार्यालयबाट इन्टरनेट पहुँच हटाइने आगामी एक बर्षभित्र सवै कार्यालयमा लागू गरिसक्ने सूचना बिभागका प्रबक्ताले बताएको जनाएको छ ।