निःशुल्क एआई तालिममा ६८ हजार बढी आवेदन, सरकारले सबै आवेदकलाई सहभागी गराउने
१८ असोज, काठमाडौं।
दुई हजार जनालाई मात्र सहभागी गराउने लक्ष्यसहित सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बौद्धिकता (एआई) तालिममा अपेक्षाभन्दा तेब्बर बढी ६८ हजारभन्दा बढी आवेदन परेपछि सरकारले सबै आवेदकलाई तालिम दिने निर्णय गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रम्ट इन्जिनियरिङ’ विषयमा अनलाइन तालिम सञ्चालन गरिरहेको छ।
प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गर्दा २६ हजार ५०० भन्दा बढी आवेदन परेका थिए । सुरुमा कात्तिक १८ र १९ गते चार सत्रमा प्रतिसत्र ५०० जनाका दरले दुई हजार युवालाई तालिम दिने योजना थियो । तर देशभरबाट ६८ हजारभन्दा बढी आवेदन परेपछि सरकारले सहभागीको संख्या बढाएर सबै आवेदकलाई समेट्ने निर्णय गरेको हो।
आवेदकलाई कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत सहभागी हुने लिङ्क पठाइनेछ । उनीहरूले आवेदन फाराममा उल्लेख गरेको नाम र मोबाइल नम्बर प्रयोग गरी आफूले रोजेको सत्रमा सहभागी हुन सक्नेछन् । तालिम प्रत्यक्ष अनलाइन माध्यमबाट सञ्चालन हुने भएकाले मोबाइल वा ल्यापटपबाट लिन सकिनेछ ।
तालिममा च्याटजीपीटी र क्लाउडलगायतका एआई उपकरण चलाउने, आफूलाई चाहिएको नतिजा पाउन स्पष्ट निर्देशन अर्थात् ‘प्रम्प्ट’ लेख्ने र एआईले दिएको जानकारीको सत्यता जाँच्ने तरिका सिकाइनेछ । इमेल, कार्यालयका कागजात र प्रस्तुति तयार गर्नुका साथै तस्बिर तथा छोटा भिडियो बनाउने अभ्यास पनि समेटिनेछ ।
कात्तिक १८ र १९ गते सञ्चालन हुने तालिमका लागि बिहान १० देखि १२ बजे र बेलुका ६ देखि ८ बजेसम्मका दुई सत्र निर्धारण गरिएको छ। सहभागीले आफूलाई अनुकूल हुने सत्र रोजेर तालिम लिन सक्ने व्यवस्था गरिएको छ।
तालिममा सहभागी हुने आवेदकलाई आफूले रोजेको सत्र सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत अनलाइन कक्षामा जोडिने लिंक पठाइने व्यवस्था गरिएको छ। अहिले बिहान १० देखि १२ बजेसम्मको सत्र सञ्चालन भइरहेको छ।
For More: Government Free AI Course

