आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा साढे ३ बजेदेखि हुने अवार्ड कार्यक्रममा ४ विधामा आइसिटी अवार्ड प्रदान गरिदैछ । यसअन्तर्गत बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१७, बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड २०१७, आइसिटी पायोनियर अवार्ड २०१७ र आइसिटी डायस्पोरा अवार्ड २०१७ को घोषणा हुने छ ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहने अवार्ड वितरण समारोहमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झा, विभिन्न मन्त्रालयअन्तर्गतका विभागका महानिर्देशकहरु, नीति तथा योजना निर्माणमा क्रियाशील व्यक्तित्वका साथै आइटी उद्योगी एवं पेशाकर्मी, शिक्षा विद्, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहने छ ।

आइसिटेक मिडियाले गत वर्षदेखि यो अवार्ड आयोजना गर्न थालेको हो । यस संस्करणको आइसिटी अवार्डमा दुई विधाहरु बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१७ र बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड २०१७ का लागि अनलाइन आवेदन गरेका प्रतिष्पर्धीमध्ये विभिन्न चरण पार गर्र्द शीर्ष ५ मा पुगेका प्रतिष्पर्धीबाट शीर्ष ३ लाई अवार्ड दिइने जनाइएको छ ।

त्यसैगरी यसपटकको आइसिटी पायोनियर अवार्डबाट वरिष्ट आइटी उद्योगी प्रोफेसनल कम्प्युटर सिस्टम प्रालिका संस्थापक एवं प्रबन्ध निर्देशक सुरेशकुमार रेग्मी र आइसिटी डायस्पोरा अवार्डबाट हलिउड उद्योगमा एनिमेशनमा क्रियाशील एवं काठमाडौंको एनिमेशन स्टुडियो इन्सेस्सेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीलाई सम्मान दिइने छ ।

यसका साथमा आइसिटी अवार्ड २०१७ को समारोहमा आइसिटी पत्रकारितामा क्रियाशील पत्रकारलाई समेत सम्मान दिने जनाइएको छ ।

आइसिटी अवार्डको प्रत्यक्ष प्रसारण न्युज २४ टेलिभिजनले गर्नेछ भने हाम्रो पात्रो मोबाइल एप, आइसिटी अवार्ड २०१७ को अफिसियल वेबसाइटलगायतबाट पनि अवार्ड समारोह हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here