अब काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा निःशुल्क फास्ट इन्टरनेट !

२१ वैशाख, काठमाडौं । भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र नेपाल दूरसञ्चार प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झाले एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।

यो आयोजना अन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका सरकारी एवं सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र, आर्युवेद केन्द्र, वडा कार्यालय, गाउँपालिका र नगरपालिहरुमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ । साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ ।

भूकम्पले अति प्रभावित चार जिल्लामध्ये काभ्रेपलाञ्चोकका गाउँपालिका तथा नगरपालिकाका ८० स्थानमा, ११८ वटा सरकारी तथा सामुदायिक विद्यालयमा र ६९ वटा स्वास्थ्य एवं आयुर्वेद केन्ऽमा सेवा उपलब्ध गराइने छ ।

त्यस्तै सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाका ७० स्थानमा, ८२ वटा सरकारी तथा ससामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्ऽमा, नुवाकोटका गाउँपालिका तथा नगरपालिकाका ६२ स्थानमा, ९५ वटा सरकारी तथा सामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्ऽमा र रसुवाका गाउँपालिका तथा नगरपालिकाका १८ स्थानमा, १६ वटा सरकारी तथा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य एवं आयुर्वेद केन्ऽ गरी जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराइने छ ।

उपभोक्ताहरुलाई यो सेवा दुई वर्षसम्म निःशुल्क उपलब्ध हुनेछ । यस आयोजनाको लागत करिव २१ करोड १६ लाख रहेको छ ।

सम्झौताका अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले, ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि सदुपयोग होस् र भूकम्प प्रभावित जिल्लाहरुमा दु्रत गतिको इन्टरनेट सेवा पनि पुगोस् भन्ने उद्देश्यले नेपाल टेलिकमसँग यो सम्झौता गरिएको बताए ।

उनले ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतका आयोजनामा नेपाल टेलिकम सहभागी भएकोमा कम्पनीलाई धन्यवाद दिदै भविष्यमा पनि यस्ता आयोजना सञ्चालन गर्न कम्पनीको सहभागिता रहने अपेक्षा गरे ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले, नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीलाई विश्वास गरेर दोश्रो आयोजना कार्यान्वयन गर्न दिएकोमा धन्यवाद दिदै उच्च प्राथमिकता दिएर समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले आयोजना सञ्चालन गरिने जिल्लाहरुमा विस्तृत अध्ययन भईसकेको र ती स्थानहरुमा जिएसएम, सिडिएमए, एडिएसएल र वाइम्याक्समध्ये स्थानअनुसार जुन प्रविधिबाट सम्भव हुन्छ सोही प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराइने बताइन् ।

२०७४ वैशाख २१ गते  प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here