दैनिक ९ करोड रुपैयाँका मोबाइल नेपालमा
चालु आर्थिक वर्षको पहिलो दुई महिनाभित्रै ५ अर्ब मूल्य बराबरका मोबाइल भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरका टेलिफोन सेट भित्रिएका छन्। यो अवधिमा १३ लाख १९ हजार ६ सय ६० थान वायरलेस नेटवर्क सेट भित्रिएका छन्। तथ्यांकअनुसार नेपालमा दैनिक ९ करोड १२ लाख ९४ हजार ९ सय ५० रुपैयाँ मूल्यका २१ हजार थान मोबाइल आउँछन्। त्यस्तै यहीबीच ३२ करोड मूल्य बराबरका मोबाइलका लागि आवश्यक अन्य सरसामान र पाटपूर्जा आयात भएको छ। अघिल्लो वर्षको यही दुई महिनामा ४ अर्ब २४ करोड रुपैयाँका मोबाइल सेट आयात भएको थियो। सूचना प्रविधिको पहुँच र टेलिफोन सेवाको विस्तार भएसँगै मोबाइल सेटको आयात पनि वर्सेनि बढ्दै गएको छ।



