नेपालमै बनेको स्कुटर यात्री पी२ को प्रारम्भिक मूल्य ३ लाख २९ हजार ९ सय र मुख्य विशेषताहरू
२ असोज, काठमाडौं।
नेपालमै बनेको स्कुटर यात्री पी२ को प्रारम्भिक मूल्य ३ लाख २९ हजार ९ सय रहेको छ। यसको पीएमएसएम मोटर, ब्याट्री विकल्प, फास्ट चार्जिङ र नेपालको भौगोलिक बनावट सुहाउँदो विशेषताहरूबारे पूर्ण जानकारी लिनुहोस्।नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पि२ केवल सहरी आवतजावतका लागि मात्र डिजाइन गरिएको स्कुटर होइन।
उकालो बाटो, घुम्ती सडक, दैनिक शहरको ट्राफिकदेखि लामो दूरीका यात्रासम्मलाई ध्यानमा राख्दै पि२मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको कम्पनीको भनाइ छ।
ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रंग तथा कम्फर्ट र कनेक्टिभिटीका अन्य विकल्पहरू छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्नेछन्।
पि२को मुख्य विशेषतामध्ये पीएमएसएम मिड–ड्राइभ मोटर एक हो, जसलाई विभिन्न सडक तथा ड्राइभिङ अवस्थामासमेत उत्कृष्ट कार्यक्षमता दिन सक्ने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
यसले पांग्रामा ३१५ एमएम टर्क उत्पादन गर्छ। साथै, एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा समेत निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ।
पि२मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ, जसले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्छ।
डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ। पि२मा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार छनोट गर्न मिल्ने तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्।
थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्मको रेन्ज प्राप्त गर्न सकिन्छ। पि२मा इन्स्टल्ड अनबोर्ड चार्जर रहेको छ, जसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोकिरहनु नपर्ने कम्पनीले जनाएको छ।
ब्याट्रीको कन्फिगरेसन अनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिन्छ। लामो यात्रा वा छिटो चार्ज गर्नुपर्ने अवस्थामा पि२ले डिसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ। तोकिएका चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिन्छ। सहरबाहिर यात्रा गर्ने पि२ प्रयोगकर्तालाई समेत सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गर्दैछ।
For more: Yatri P2 Electric Scooter Price in Nepal

