ट्रेजरी बिल के हो ? कसरी जारी गरिन्छ ?

Treasury Bills in Nepal
Monetary Policy

८ फागुन २०७९, काठमाडौं । 

सरकारलाई चाहिने छोटो समयावधिको रकम संकलन गर्न नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको वित्तीय औजारलाई ट्रेजरी बिल भनिन्छ । यसको प्राथमिक र दोस्रो दुवै बजारको काम नेपाल राष्ट्र बैंकले गर्दै आएको छ भने ट्रेजरी बिलको अवधि एक वर्षभन्दा बढी हुंदैन ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

यस्ता बिलहरु डिस्काउन्टमा जारी गरिन्छ । यो धितोपत्र व्यक्ति तथा संस्था दुबैले किन्न पाउने गरी जारी गरिन्छ । यसमा निश्चित प्रतिशत् ब्याजदर तोकिएको हुदैंन ।

सरकारी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकद्वारा संचालित बोलकबोल प्रक्रिया मार्फत जारी गरिन्छ । बोलकबोल अनलाईन बोलकबोल प्रणाली मार्फत सञ्चालन गरिन्छ । विभिन्न ऋणपत्रको निष्काशन र बोलकबोलमा प्रयोग गरिने विधि निम्नानुसार रहेको छ ।

(क) ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ । बोलकबोलमा बहु-बोलमूल्य विधि (American Auction System) प्रयोग गरिन्छ ।

(ख) विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि (Dutch Auction System) प्रयोग गरिन्छ ।

(ग) नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्काशन खुला बजार सञ्चालन समिति ले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा यस बैंकको वेबसाइटमा प्रकाशित गरिन्छ । यी ऋणपत्रहरूको अवधि र यसमा पाइने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ ।

अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।

नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नु पर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाकोअर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ । बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये नेपाल राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ ।

बोलकबोलमा सफल बोलवालालाई प्रमाणको रूपमा विवरणसहितको प्रमाणपत्र उपलब्ध गराइन्छ । ट्रेजरी बिलको निष्कासनमा डिस्काउण्ट रकम कटाएर बाँकी रकम मात्र जम्मा गरिन्छ भने तोकिएको मितिमा पूरा रकम (प्रमाणपत्रमा अंकित मूल्य) भुक्तानी गरिन्छ ।

बजारमा तरलता व्यवस्थापन गर्ने र व्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरीद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकोले बजारमा मुद्राको आपूर्ति बढ्दछ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा ऋणपत्र विक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र व्याजदर बढ्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here