क्यान इन्फोटेक अवलोकन गर्नेको घुइँचो, मेला दैनिक जीवनमा केन्द्रित

Share It On:

क्यान इन्फोटेक अवलोकन गर्नेको घुइँचो, क्यान महासंघ भन्छ– यसपटकको मेला दैनिक जीवनमा प्रविधिको प्रयोगमा केन्द्रित।

राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । विभिन्न नौला प्रविधि र प्रदर्शनी हेर्न तीन दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ गत वर्षभन्दा निक्कै भिन्न छ । दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित भएको क्यान महासंघकी उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले जानकारी दिइन् ।

CAN info-tech is almost here for the 2019 edition

मेलामा दूरदराजमा ड्रोनको प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग व्यावहारिक रुपमै देखाइएको छ । ‘ड्रोनबाट दूरदराजमा औषधि पठाउन सकिने, एक ठाउँबाट दुई–तीन ठाउँमा अध्ययन–अध्यापन गराउन सकिनेलगायत प्रविधिको व्यावहारिक प्रयोगमा यसपटक विशेष ध्यान दिएका छौं,’ उनले भनिन्, ‘त्यसकारण पनि क्यान इन्फोटेक २०१९ विगतमा भन्दा भिन्न छ ।

Mega event for the ICT sector of Nepal
CAN info tech to showcase the new technologies

‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् । क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले यसपटकको सूचना प्रविधि प्रदर्शनी सर्भिस सेक्टर र इन्नोभेसन केन्द्रित भएको बताए । ‘यसपटक बैंकिङलगायत क्षेत्रका लागि प्रविधिको प्रयोगलाई क्यानले विशेष प्राथमिकता दिएको छ,’ उनले भने, ‘त्यस्तै इन्नोभेसन सेक्टरमा आउन चाहनेका लागि मेला एक्सपोजर बनेको छ ।’

मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको क्यानले जनाएको छ । मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । मेलामा बिहीबार पनि प्रविधिको माध्यमबाट अध्ययन गराइएको थियो । मेलामा काठमाडौंको पद्मकन्या माध्यमिक विद्यालयबाट मेलास्थल आएका विद्यार्थी र बुटवलको कालिका माविका विद्यार्थीलाई एकसाथ प्रविधिको माध्यमबाट बूढानीलकण्ठ स्कुलका शिक्षकले पढाएका थिए ।
बुधबार धादिङबाट क्यान इन्फोटेक अवलोकन गर्न आएका विद्यार्थीलाई बुटवलको कालिका माविका शिक्षकले प्रविधिको माध्यमबाट अध्यापन गराएका थिए ।

मेलाको तेस्रो दिन बिहीबार वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेल, विद्यार्थी नेता नयन सिंह महर, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेसागत संघसंगठनका प्रतिनिधिको ठूलो संख्यामा उपस्थिति रह्यो ।

कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts