कात्तिक १७ र १८ गते देशभरका २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
९ कात्तिक, काठमाडौं।
दसैंका कारण स्थगित गरिएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानअन्तर्गत देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
सामान्यतया हरेक वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष दसैंको समय परेकाले नयाँ मिति निर्धारण गरिएको हो । अभियानमार्फत लक्षित उमेर समूहका बालबालिकालाई आवश्यक पोषण तथा स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको तयारी छ ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि प्रदान गरिनेछ ।
कार्यक्रम सञ्चालनका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको थापाले जानकारी दिएका छन् । अभियानलाई प्रभावकारी रूपमा सम्पन्न गर्न देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।
बालबालिकामा कुपोषणको जोखिम घटाउन, भिटामिन ‘ए’ को कमीबाट हुन सक्ने स्वास्थ्य समस्या रोक्न तथा उनीहरूको समग्र स्वास्थ्य सुधार गर्ने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा भिटामिन ‘ए’ खुवाउने अभियान २०५० सालदेखि सुरु भएको हो भने जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ सालदेखि सञ्चालन हुँदै आएको छ ।
For More: Vitamin A Campaign Nepal

