यूएन सम्मेलनको झल्को दिने यूजीसीआई मुन

UN Meeting
Share It On:

सभाहलमा विभिन्न राष्ट्रका प्रतिनिधि । समूह–समूहमा टोली विभाजन । प्रतिनिधिहरूले आ–आफ्ना देशको प्रतिनिधित्व गर्दै संवेदनशील विषयमा आफ्नो धारणा राख्दै छन् ।

कोही इन्डिया बनेर, कोही पाकिस्तान बनेर बोले र बोलिरहेका छन् । इन्डिया बनेर बोलिरहेको छ भने पाकिस्तानको पक्षमा बोल्न पाउँदैन ।

विश्वको समस्या, चुनौती र समाधानका विषयमा प्रतिनिधिहरू आफ्नो धारणा राख्दा चित्त बुझ्यो भने अन्य प्रतिनिधिहरूले टेबुल ठोकेर सहमत जनाउँछन् ।

झट्ट हेर्दा संयुक्त राष्ट्र संघ (यूएन)को बैठकझैं देखिने । यो दृश्य हो, काठमाडौंको कमलादीमा रहेको युनिग्लोब कलेजको सभाहलमा चलिरहेको यूजीसीआई २०२० को । जहाँ विद्यार्थीहरू विश्वका समस्याबारे छलफल गरिरहेका छन् ।

‘विश्वमा कस्ता–कस्ता समस्या छन् ? समस्याको समाधान कसरी गर्ने ? आफ्नो भूमिका के हो ? यूएनले समस्या समाधान कसरी गर्छ भन्ने विषयमा छलफल गरिरहेका छौं,’ कार्यक्रमकी महानिर्देशक मोनिसा चौधरीले भनिन् ।

महानिर्देशक चौधरीले भनिन्, ‘नेपाल र भारतबीच सीमा विवाद छ । भारत र पाकिस्तानमा द्वन्द्व छ । यी विषयमा युनाइटेड नेसनले कसरी काम गर्छ ? कोही इन्डिया बनेर, कोही पाकिस्तान बनेर, कोही नेपाल बनेर, कोही भारत बनेर आफ्नो राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्छन् ।’

भारतको पक्षमा बोलेको छ भने पाकिस्तानको पक्षमा बोल्न पाइँदैन । ६ वटा कमिटी बनाएर यी समस्याको समाधानका विषयमा विद्यार्थीहरूले छलफल गरिरहेका छन्,’ उनले भनिन् ।

आ–आफ्नो कमिटीले एउटा निचोड निकालेर अन्तिम दिन त्यसलाई पास वा फेल गरिन्छ । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा डिभेड कसरी गरिन्छ भन्ने सिकाउन, विद्यार्थीको सोच्ने क्षमता विकास गर्न, बोल्न, समस्यालाई फेस गर्न र समाधान गर्न कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको छ ।

यनिग्लोब कलेज र ग्लोबल कलेज इन्टरनेसलनका विद्यार्थी मिलेर कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा १ सय ५० विद्यार्थी सहभागी छन् । बिहीबारदेखि सुरू भएको कार्यक्रम शनिबारसम्म चल्ने कार्यक्रमकी महानिर्देशक मोनिसा चौधरीले जानकारी दिइन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *