त्रिभुवन विश्वविद्यालय र एयरबसबीच सम्झौता: नेपालमै एयरोस्पेस र साइबर सुरक्षा पढाई हुने
१५ जेठ, काठमाडौं।
विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस (Airbus) र नेपालको सबैभन्दा ठूलो सार्वजनिक विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (टियू) बीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि ऐतिहासिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
यस सहकार्यले नेपालमा एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र उद्योग अनुभवका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई एयरोस्पेस इन्जिनियरिङ, AI/ML, Advanced Analytics तथा Cybersecurity जस्ता आधुनिक प्रविधिसम्बन्धी ज्ञान र सीप विकासमा सहयोग गरिनेछ।
समझदारीपत्रमा एयरबस साउथ एसिया (Airbus South Asia) का प्रेसिडेन्ट तथा म्यानेजिङ डाइरेक्टर जर्गेन वेस्टरमायर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले हस्ताक्षर गरेका हुन्।
विशेष समारोहका बीच आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्टेभल (Virginie Corteval) लगायत विभिन्न उच्चपदस्थ सरकारी अधिकारी तथा एयरबसका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै एयरबस साउथ एसियाका प्रमुख जर्गेन वेस्टरमायरले नेपालमा दक्ष प्राविधिक जनशक्ति विकासका लागि एयरबसले आफ्नो अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र विशेषज्ञता पूर्ण रूपमा साझा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस सहकार्यले नेपालको उड्डयन तथा एयरोस्पेस क्षेत्रलाई विश्वमञ्चमा थप सुदृढ र प्रतिस्पर्धी बनाउन कोेसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले Airbus जस्तो विश्वस्तरीय कम्पनीसँगको सहकार्यले विश्वविद्यालयको पाठ्यक्रम सुधार गर्न, विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन तथा नेपालको उड्डयन क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने बताए।
समझदारीअनुसार आगामी दिनमा दुवै संस्थाले संयुक्त रूपमा अनुसन्धान, विशेष तालिम तथा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नेछन्। यसका साथै विद्यार्थीहरूका लागि इन्टर्नसिप (Internship), प्लेसमेन्ट (Placement), वर्कसप, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कन्फरेन्स र अन्य प्राविधिक तथा प्रयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्ने सम्भावनाबारे पनि दुवै पक्षले संयुक्त रूपमा काम अगाडि बढाउने जनाएका छन्।
For More:-TU Airbus Aerospace Cybersecurity


