नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार
१२ मंसिर, काठमाडौं।
चिनियाँ विद्युतीय सवारी ब्रान्ड काइफेङका तीन मोडल नेपाली बजारमा भित्रिने भएका छन्। आधिकारिक वितरक एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो क्लिनिक प्रालिले काइफेङको केएफ ५०३९ विद्युतीय व्यावसायिक भ्यान (३५०+ किमि रेन्ज), केएफ १०२१ हलुका ट्रक (२९०+ किमि रेन्ज) र केएफडी ०१ यात्रुवाहक कार (३००+ किमि रेन्ज) ल्याउन लागेको हो।
काठमाडौंको पानीपोखरीमा शोरुम र बालाजुमा सर्भिस सेन्टर स्थापना भइसकेको कम्पनीले देशभरका १६ आउटलेटबाट बिक्री तथा सेवा विस्तार गर्ने जनाएको छ।
नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै. चीनको विद्युतीय सवारी ब्रान्ड काइफेङका तीन मोडल नेपाली बजारमा आउने भएका छन्। नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुपले काइफेङका तीन मोडल भित्र्याउन लागेको हो।
कम्पनीले विद्युतीय यात्रुवाहक भ्यान, हलुका मालवाहक ट्रक र यात्रुवाहक कार नेपाली बजारमा ल्याउन लागेको जनाएको छ।नेपाली बजारमा आउन लागेका मोडलमा केएफ ५०३९ विद्युतीय व्यावसायिक भ्यान, केएफ १०२१ विद्युतीय हलुका ट्रक र केएफडी ०१ विद्युतीय यात्रुवाहक कार रहेका छन्।
केएफ ५०३९ विद्युतीय व्यावसायिक भ्यानमा ६२।२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ। यसले एकपटकको पूर्ण चार्जमा ३५० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। ८० किलोवाट क्षमताको मोटर रहेको यो भ्यानमा १४ जनाले यात्रा गर्न सक्छन्।
यसमा एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), विद्युतीय पावर स्टेयरिङ (ईपीएस), टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), सेन्ट्रल लक, १०.१ इन्चको मल्टिमिडिया टचस्क्रिन, पछाडिको दृश्य देखाउने क्यामेरा, पार्किङ सेन्सर र डीसी फास्ट चार्जिङ सुविधा छन्। साथै, विद्युतीय रूपमा मिलाउन सकिने साइड मिरर, तातो हावा दिने रियरभ्यु मिरर, वातानुकूलन प्रणाली, भित्री बत्ती र विद्युतीय झ्याललगायत सुविधा उपलब्ध छन्।
त्यस्तै, केएफ १०२१ विद्युतीय हलुका ट्रकमा ४१.८६ किलोवाट आवर क्षमताको क्याटल ब्याट्री जडान गरिएको छ। यसले एकपटकको पूर्ण चार्जमा २९० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। ७० किलोवाट क्षमताको मोटर भएको यस ट्रकले १.५ टनसम्म मालसामान बोक्न सक्छ। यसमा १९५/७० आर१५ आकारका टायर प्रयोग गरिएको छ।
यसैगरी, केएफडी ०१ विद्युतीय यात्रुवाहक कारमा ३१.९५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ। यसले पूर्ण चार्जमा ३०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। ४५ किलोवाट क्षमताको मोटर रहेको यो पाँच सिटे कारको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर छ।
यसमा एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), ईपीएस, एयरब्याग, वातानुकूलन तथा हिटर, मल्टिमिडिया टचस्क्रिन, रियरभ्यु क्यामेरा, पार्किङ सेन्सर, लेदर सिट, भेल्भेट कार्पेट, विद्युतीय झ्याल र स्पेयर टायरलगायत सुविधा छन्। साथै, स्टेयरिङ माउन्टेड कन्ट्रोल, स्टेयरिङ एड्जस्टमेन्ट र डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध छन्।
काइफेङले सवारीसाधनको अनुसन्धान तथा विकास, उत्पादन, पार्टपुर्जा आपूर्ति, निर्यात र ओईएम सेवामा काम गर्दै आएको छ। चीनको जियाङ्सु प्रान्तस्थित दानयाङ सहरमा रहेको आफ्नै कारखानाबाट कम्पनीले सवारीसाधन उत्पादन तथा निर्यात गर्दै आएको छ। कम्पनीको मुख्य टोलीमा करिब १५० जना सदस्य छन्। उनीहरूले उत्पादन अनुसन्धान तथा विकास र सवारीसाधन उत्पादनको काम सम्हाल्दै आएका छन्।
कम्पनीले नान्टोङ र सांघाईमा संयुक्त प्राविधिक अनुसन्धान तथा विकास केन्द्रसमेत सञ्चालन गरिरहेको छ। कम्पनीले नेपालसहित पाकिस्तान, इजिप्ट, टर्की, इथियोपिया, इरिट्रिया, श्रीलंका, कंगो, नाइजेरिया र म्यानमारलगायत देशमा आफ्नो बजार विस्तार गरेको जनाएको छ।
नेपालमा काइफेङ ब्रान्डको आधिकारिक वितरकका रूपमा दुगड अटो क्लिनिक प्रालि नियुक्त भएको छ। एमभी दुगड ग्रुपअन्तर्गतको यस कम्पनीले काठमाडौंको पानीपोखरीमा बिक्री कक्ष र बालाजुमा बिक्रीपछिको सेवा केन्द्र स्थापना गरिसकेको छ।
कम्पनीका व्यवसाय प्रमुख नवीन फुयालका अनुसार एमभी दुगड ग्रुपका देशभर रहेका १६ वटा अटोमोबाइल बिक्री केन्द्रबाट पनि चाँडै काइफेङका सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराइनेछ।
For more: Three Kaifeng Electric Vehicles in Nepal



