टेलिकमको नाफा १३ अर्ब ८७ करोड

काठमाडौं ।  

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आर्थिक वर्ष २०७१/०२ मा १३ अर्ब ८७ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा दुई अर्ब ३२ करोड रुपैयाँले बढी हो ।

टेलिकमले अघिल्लो आर्थिक वर्ष २०७०/०७१ मा ११ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष सेवा बिक्रीबाट भएको आम्दानी साढे ९ अर्बको हाराहारीमा बढेपछि खुद नाफा बढ्न गएको हो । टेलिकमले सेवा बिक्रीबाट ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २७ अर्ब ७५ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

टेलिकमले विनाशकारी भूकम्पपछि उपभोक्तालाई २ अर्ब रुपैयाँ भन्दा बढीको टेलिफोन, एसएमएस तथा डाटा सेवा निःशुल्क प्रदान गरेपनि सेवा बिक्रीबाट उच्च आम्दानी गर्न सफल भएको छ ।

टेलिकमले गत वर्ष अन्य क्षेत्रबाट ३ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ८६ करोड ८५ लाख रुपैयाँ रहेको थियो ।

टेलिकमले ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँ आम्दानी करका लागि छुट्टाएर राखेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ आम्दानी कर बुझाएको थियो । टेलिकम मुलुककै सर्वाधिक नाफा कमाउने र कर तिर्ने कम्पनी हो ।

टेलिकमको प्रतिशेयर आम्दानी ७७ रुपैयाँबाट बढेर ९२ रुपैयाँ ४८ पैसा पुगेको छ । प्रतिशेयर बजार मूल्य भने ६५६ रुपैयाँबाट घटेर ६ सय ३६ रुपैयाँमा झरेको छ । यस्तै मूल्य आम्दानी अनुपात ६.८८ गुना, प्रतिशेयर नेटवर्थ ४२८.२९ रुपैयाँ रहेको छ ।