काठमाडौँको टेकुमा बायोग्याँस प्लान्ट पुनः सञ्चालन हुँदै: महानगर र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता
१९ साउन, काठमाडौं।
काठमाडौँ महानगरपालिकाको टेकुमा रहेको बायोग्याँस प्लान्टलाई पुनः सञ्चालनमा ल्याउन महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच औपचारिक सम्झौता भएको छ। सहरमा उत्पादित जैविक फोहरको व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउने प्रमुख उद्देश्यसहित यो महत्त्वपूर्ण साझेदारी गरिएको हो।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको बैठक कक्षमा उनकै रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डंगोलले फोहरको पुनःस्थापना गर्नु मात्र ठुलो कुरा नभई यसको दिगो सञ्चालन र सिकाइका रूपमा विस्तार गर्नु नै मुख्य उपलब्धि हुने बताइन्।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले प्लान्ट सञ्चालनका लागि आवश्यक पर्ने उपकरण, सामग्री तथा प्राविधिक सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले यसको अनुगमन र सुपरीवेक्षणपश्चात् महानगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिँदै आगामी दिनमा हरित जलवायु कोष अन्तर्गतका कार्यक्रमहरूमा पनि सहकार्य गर्न सकिने उल्लेख गरे।
महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु भई २०७५ देखि सञ्चालनमा आएको यो प्लान्ट प्राविधिक कारणले बीचमा बन्द भएको थियो। यसअघि दैनिक ३ मेट्रिक टन जैविक फोहरबाट १४ किलोवाट बिजुली, ३ सय किलोग्राम जैविक मल र १३ हजार ५ सय लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो। अब यसको पुनरुत्थानका लागि केन्द्रले विस्तृत सम्भाव्यता अध्ययन गर्नुका साथै उपकरण खरिद, जडान र परीक्षणको काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गर्नेछ।
त्यसैगरी, महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मतसम्भारका लागि बजेट व्यवस्थापन गर्ने, व्यावसायिक मोडलमा लैजान योग्य जनशक्ति छनोट गर्ने र संरचनाको पूर्ण स्वामित्व ग्रहण गर्दै वातावरणमैत्री सञ्चालन सुनिश्चित गर्नेछ। फोहरलाई स्रोतका रूपमा प्रयोग गरी बायोग्याँस र जैविक मल उत्पादनमार्फत ‘चक्रीय अर्थतन्त्र’ (सर्कुलर इकोनोमी) लाई टेवा पुर्याउने महानगरको मुख्य योजना छ।
काठमाडौँ महानगरपालिकाले यस परियोजनालाई केवल फोहर व्यवस्थापनमा मात्र सीमित नराखी सार्वजनिक-निजी साझेदारी कार्यक्रम अन्तर्गत व्यावसायिक रूपमा सफल बनाउने योजना अघि सारेको छ । यसबाट कुहिने फोहरको दिगो व्यवस्थापनका लागि प्रविधिको प्रयोग बढ्नेछ । बञ्चरे डाँडामा पुग्ने फोहरको मात्रा घट्नेछ । यससँगै फोहरबाट आम्दानी बढ्नेछ । यसबाट उत्पादित ऊर्जा र मलले सहरको सरसफाइ र वातावरणीय सन्तुलनमा ठुलो टेवा पुग्ने महानगरको विश्वास छ ।
For More: Kathmandu Biogas Plant Agreement

