नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

Switzerland's private

२ चैत, काठमाण्डौं ।

वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् ।

बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् ।

दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् ।

‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं’, उनले भनिन्, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।

’उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ । मिसन टोलीले सरकारी अधिकारीहरुका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ ।

आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधि मण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिइन् । उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात–निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उनको भनाइ थियो ।

यस्तै राजदूत मेउलीले आफूहरुसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताइन् ।

उनले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरुमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा हरेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गरिन् ।

मन्त्री पुनले स्वीटजरल्याण्ड नेपालको पुरानो मध्येको एक महत्वपूर्ण विकास साझेदार रहेको तथा द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गरे । आगामी दिनमा समेत सम्बन्ध थप राम्रो हुँदै जाने विश्वास उनको थियो ।

मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा लगानी गर्नका लागि स्वीट्जरल्याण्डका लगानीकर्तालाई आग्रह गरिदिन भने । पुनले लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका लागि धन्यवाद दिँदै त्यसअघि नै लगानीको वातावरण बनाउने गरी संसदबाट कानून संशोधनको काम गर्न चाहेको जानकारी दिए ।

उनले सरकारले कानूनी र व्यवहारिक रुपमा लगानीको वातावरण बनाउने मात्र नभई लगानी सुरक्षाको समेत ग्यारेण्टी गर्ने उनको प्रतिबद्धता थियो । ‘मैले निजी क्षेत्रका प्रतिनिधिहरुसँग लगानीको भरपर्दो वातावरण बनाउने र लगानी सुरक्षाको ग्यारेण्टी गर्ने वातावरण बनाउनुस् ।

लगानीको सुरक्षा गर्न सरकार प्रतिबद्ध छ भनेको छु’, उनले भने, ‘१२ वर्षअघि पनि अर्थमन्त्री भइसकेका कारण मप्रति निजी क्षेत्रको पनि विश्वास र भरोसा छ ।

पुनले आर्थिक रुपमा केही दबाबमा रहेको तथा निजी क्षेत्र पनि संकटमै रहेको भन्दै सरकार, निजी क्षेत्र, विकास साझेदार र दातृ निकायबीचको समन्वयमा अर्थतन्त्रका चुनौती सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

उनले राजदूत मेउलीलाई नेपालमा क्रमशः लगानीमैत्री वातावरण बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रेषित गरिदिन आग्रह गरे ।

आगामी बजेटमा शान्ति कोषको व्यवस्था गरिने

राजदूत मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी दिए । आफू विगत १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको बताए ।

बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति कोषको व्यवस्था गर्न लागेको भन्दै त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह गरे ।

‘हामीले अमेरिका, बेलायतसहित विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौं । सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । स्वीस सरकारको तर्फबाट पनि यसमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here