बजारमा आयोडिनविहीन नुनको बिगबिगी: तत्काल बिक्री-वितरण रोक्न चिकित्सकको माग
५ जेठ, काठमाडौं।
नेपालमा आयोडिनको कमीबाट उत्पन्न हुने जनस्वास्थ्य समस्या पुनः बढ्न सक्ने चेतावनी दिँदै चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले आयोडिनविहीन नुनको बिक्री–वितरण मा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल–भारत खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन नेपाली बजारमा सहज रूपमा भित्रिन थालेपछि बालबालिका, गर्भवती महिला र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेको उनीहरूको निष्कर्ष छ ।
यहाँका व्यापारिक ‘सुपर मार्केट’ तथा खाद्यान्न पसलहरूमा यस्ता नुन खुलमखुला बिक्री वितरण भइरहेकामा चिन्ता व्यक्त गर्दै विज्ञहरूले आम उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि बजार अनुगमनलाई तीव्र पार्न र मापदण्डविपरीतका नुन जफत गर्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।
अर्काेतर्फ सरकारले नुन बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड एवं गुणस्तरअनुसार आयोडिनको मात्रा नभएको नुन बिक्रीवितरण हुँदा भविष्यमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको उनीहरुको तर्क छ ।
सरकारले २०८२ साल साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीवितरण गर्न बाटो खुलाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँले गत वैशाख ४ गते मात्र ‘हिमालयन पिङ्क रक साल्ट’को गुणस्तर परीक्षण गर्दा आयोडिनको मात्रा नभेटिएको ‘रिपोर्ट’ सार्वजनिक समेत गरेको जनाइएको छ ।
यहाँका बजारमा ‘ब्लाक साल्ट’ नामका भारतीय गुणस्तरहीन र मापदण्डविपरीतका नुन खुला बिक्री वितरण हुँदै भएका छन् । भारतीय सरकारले नुनमा उत्पादन तहमा ३० पिपिएम र भान्सामा पुग्दा १५ पिपिएम निर्धारण गरेको छ ।
तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिवसमेत रहेका डा बह्राराकोटीका अनुसार ‘आयोडिन’ शरीरलाई दैनिकरूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो ।
नुनले थाइरोड ग्रन्थीबाट थाइरोइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्नजस्ता मुख्यमुख्य काममा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा उत्पादन तहमा नुनमा ५० पीपीएम, बिक्री तहमा ३० पीपीएम र उपभोक्ता तहमा कम्तीमा १५ पीपीएम आयोडिन हुनुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै नुनमा जलांश अधिकतम ६ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत र पानीमा नघुल्ने पदार्थ अधिकतम १ प्रतिशत हुनुपर्ने मापदण्ड तोकिएको छ । मापदण्डभन्दा कम सोडियम क्लोराइड भएको नुनले रक्तचापलगायत स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूको भनाइ छ ।
स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले पनि आयोडिनविहीन नुन नियन्त्रणका लागि बजार अनुगमन कडा बनाइने बताएका छन् । सीमावर्ती नाकाबाट भइरहेको अवैध आयात नियन्त्रण गर्दै मापदण्डविपरीतका नुन बिक्री रोक्ने तयारी भइरहेको प्रशासनको भनाइ छ । उपभोक्तालाई पनि किनमेल गर्दा नुनको गुणस्तर र आयोडिनको मात्रा जाँच्न सचेत हुन आग्रह गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार सरकारको कार्यादेशअनुरूप गत आर्थिक वर्षमा करिब दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री–वितरण गरिएको थियो। बजारमा नुनको अभाव हुन नदिन कर्पोरेसनले आगामी छ महिनासम्मलाई पुग्ने पर्याप्त नुन आफ्ना गोदामहरूमा मौज्दात राख्दै आएको जनाएको छ।
For More:-Substandard Salt Market Ban


