नेप्सेमा देखिएको प्राविधिक समस्या छानबिन गर्न सेबोनद्वारा एक साताको अल्टिमेटम
५ असोज, काठमाडौं।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा प्राविधिक समस्या आएर धितोपत्र कारोबार स्थगित भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले घटनाको छानबिन गर्न अध्ययन टोली गठन गर्नुका साथै आगामी असोज १२ गतेभित्र सुधारसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
आइतबार बिहानदेखि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरूमध्ये ७२ वटा कम्पनीको सर्भर राखिएको डेटा सेन्टरमा प्राविधिक समस्या देखिएको थियो। उक्त समस्या समयमै समाधान हुन नसेपछि सोमबार सेयर कारोबार पूर्ण रूपमा स्थगित हुन पुगेको थियो।
कारोबार रोकिएसँगै चासो देखाएको सेबोनले नेप्सेलाई पत्र पठाउँदै घटनाको छानबिन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए। उनका अनुसार ७२ वटा ब्रोकर कम्पनीको सेन्टर डेटाको जिम्मा लिएको ‘डेटा हब’ को प्रणालीमा समस्या आएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा ५ सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डको निर्देशानुसार नेप्सेले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक प्राविधिक सुधारसहितको प्रतिवेदन आगामी असोज १२ गतेभित्र पेस गर्नुपर्नेछ।
For More: SEBON investigates NEPSE glitch

