धितोपत्र बोर्डद्वारा पुँजीबजार विकास मार्गचित्र ल्याउने घोषणा, सुझबुझपूर्वक लगानी गर्न आग्रह
२५ असार, काठमाडौं।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी साताभित्र समयबद्ध कार्ययोजनासहितको विस्तृत ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लैजाने घोषणा गरेको छ।
धितोपत्र बजारमा हाल देखा परेका समस्या र लगानीकर्ताका गुनासाहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले एक प्रेस विज्ञप्ति जारी गरी उक्त प्रतिबद्धता व्यक्त गरेको हो। बजारका समसामयिक समस्याहरूको स्थायी समाधान र लगानीकर्ताहरूको हकहित संरक्षणका लागि बोर्डले गम्भीर रूपमा गृहकार्य अघि बढाइरहेको स्पष्ट पारेको छ।
यसैगरी, बोर्डले धितोपत्र व्यवसायी तथा सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायत बजार सम्बन्धी विषयमा दिइएका निर्देशनहरू तोकिएकै समयमा सम्पादन गराउन निर्देशन दिएको छ।
बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउनका लागि विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, एवं सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानुनी व्यवस्थाहरूमा समसामयिक पुनरावलोकन गर्ने कार्य समेत प्रारम्भ भइसकेको बोर्डले जनाएको छ।
लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेकाले कसैको पनि हल्ला, बहकाउ वा अफवाहको पछि नलाग्न बोर्डले विशेष अपिल गरेको छ।
साथै, आफ्नो व्यक्तिगत अध्ययन, विश्लेषण र जोखिम वहन क्षमतालाई ध्यानमा राख्दै सुझबुझ पूर्ण तरिकाले मात्रै लगानी सम्बन्धी निर्णय लिन बोर्डले सम्पूर्ण लगानीकर्ताहरूलाई अनुरोध गरेको छ।
For More: SEBON Announces Capital Market Roadmap



