नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा फन्ट डिजाइनरहरू र लिपि विशेषज्ञहरू सँगको छलफल कार्यक्रम

Ranjana Unicode Font

४ चैत, काठमाण्डौं।

नेपाल कला-परिषदमा “नित्या रञ्जना” अर्थात् रञ्जना युनिकोड फन्ट विमोचन तथा लिपि विचार गोष्ठी आयोजना भएको छ । काठमाडाैँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलको प्रमुख आतित्थ्यमा आयोजित यस कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा गहन छलफल गर्दै आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्धन गर्न विकास गरिएको “रञ्जना युनिकोड फन्ट” को आधिकारीक सुरुवात (Ranjana Unicode Font Launch) गरिएको हो ।

यो  कार्यक्रमको आयोजना क्यालिजात्रा फाउण्डेसनले गरेको हो ।

समग्र नेपालको पहिचान बोकेको प्रचलित भाषा, लिपि, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा, विश्वव्यापीकरण र पश्चिमेली सभ्यताको बढ्दो अवलम्बनका कारण लोपोन्मुख अवस्थामा पुगेको र यसै कारण ऐतिहासिक कालखण्ड देखि इण्डो आर्यन, मंगोल र भोट बर्मन जातिको ईतिहास, अस्तित्व र पहिचान बोकेको रन्जना लिपि समेत ओझेलमा पर्दै गएको विषय यहाँहरू सबै माझ अवगतै छ ।

यो अन्यन्तै संवेदनशील विषयलाई मध्यनजर गर्दै क्यालिजात्रा फाउण्डेशनले विगतका केहि समयदेखि नेपालको चिनारीका रुपमा रहेका प्रचलित नेपाली भाषा, लिपि, सम्पदा, संस्कृति तथा पर्यटनको संरक्षणका साथसाथै प्रवर्धनका कार्यहरुलाई विविध सेमिनार, गोष्ठि, क्यालिजात्रा जस्ता कार्यक्रमहरु निरन्तर संचालन गर्दै आइरहेको जानकारी यहाँहरू माझ गराउँदछाै।

यसका साथै यो फाउण्डेशनले नेपाली लोपोन्मुख प्रचलित भाषा, लिपि, सम्पदा र संस्कृतिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रचार प्रसार गर्न देश विदेशमा आयोजित राष्ट्रिय अन्तराष्ट्रिय साँस्कृतिक कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आईरहेको छ । यसका अलवा लिपिको संरक्षण गर्न विविध जनचेतनामुलक जनजागरणका कार्यक्रमहरु, श्रव्य दृष्य निर्माण तथा प्रस्तुती समेत गर्दै आइरहेको छ ।

आजको आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता र सोको सम्बोधन गर्न डिजिटल फन्टको विकास गर्न आवश्यक रहेको तथ्यलाई मध्यनजर राख्दै क्यालिजात्रा फाउण्डेशन र मित्रराष्ट्र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी “EK TYPE” मुख्य फन्ट विकासकर्ता तथागत बिसवास, सारंग कुलकर्णी, नूपुर दात्ये र EK TYPE टोलीको सहयोगमा “रञ्जना युनिकोड फन्ट” विकास गरेको हो ।

रञ्जना लिपि विशेषज्ञ आनन्द कुमार महर्जनले नियमित सल्लाह सुझाव, मार्गनिर्देशन, समिक्षा तथा आवश्यक स्रोत साधनहरू प्रदान गरेर यस फन्टको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । यो रञ्जना युनिकोड फन्ट विश्वका लागि नि:शुल्क हुनेछ र देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध हुनेछ। यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट हो जुन स्क्रिन, प्रिन्टिङ र वेबका लागि पनि अनुकूलित छ।

क्यालिजात्रा फाउण्डेशनका विगतमा कार्यहरूबाट प्रभावित भएर अमेरिका बसोबास गर्दै आएका डा. मुरली के. प्रल्हादले रञ्जना फन्टलाई नयाँ आयाम दिनुपर्ने आवश्यकता महसुस गरेर आफ्नै लगानीमा “नित्या रञ्जना” फन्ट विकास थालनी गरेका हुन्। उनको महत्वपूर्ण योगदान बिना यो कार्य यति सहज अवश्य थिएन ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित काठमाडौँ महानगरपालिकाको उप प्रमुख सुनिता डंगोलले आफ्नो कार्य व्यस्तताले गर्दा क्यालिजात्राको लागि धेरै समय दिन नपाए पनि आफ्नो मनमा सधैँ रञ्जना लिपि प्रतिको प्रेम र यसको विकासको चाहना रहने बताइन ।

“अब रञ्जना लिपिमा लेख्न विशेषज्ञलाई कुर्न नपर्ने, आफ्नो मोबाइल या ल्यापटप बाटै आफैले लेख्न सक्ने हुँदा यो युनिकोड फन्ट विमोचन भएसँगै रञ्जना लिपि नयाँ युगमा प्रवेश गरेको” भन्दै उनले आफ्नो हर्ष व्यक्त गरिन् ।

त्यसबाहेक विमोचन कार्यक्रममा लिपि तथा भाषा विशेषज्ञहरु, क्यालिग्राफरहरु, टाइपोग्राफरहरु, डिजाइन प्रोफेसरहरु, फन्ट डिजाइनरहरु, लिपि तथा भाषा क्षेत्रमा काम गर्ने आईटि विज्ञहरु, भाषा तथा लिपि अभ्यासीहरु लगायत संचारकर्मीहरुको सहभागीतामा लिपि विचार गोष्ठी (LIPI TALK) आयोजना भएको छ ।

हिजोको दिनमा उपयूक्त डिजिटल लिपिको उपलब्धता नभएतापनि लिपिको प्रयोगमा बढोत्तरी भएको र प्रयोग गरिएका ठाउँमा पनि गलत स्कृप्ट लेखन भइरहेको यथार्थता लाई यस गोष्ठीमा उजागर गरिएको छ ।

आज सार्वजनिक भएको यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरू भन्दा कलात्मक र प्राविधिक रूपमा सुधारिएको हुनाले रञ्जना लिपिलाई प्रवर्द्धन गर्न र सही रूपमा प्रयोग बढाउन मद्दत गर्ने विश्वास आयोजक टोलीले लिएका छन् ।

सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने आयोजक टोलीको भनाइ छ ।

त्यसबाहेक कार्यक्रममा रञ्जना फन्ट बुकलेट वितरण, रञ्जना अपडेटेड एप बारे जानकारी, फन्ट डिजाइन प्रदर्शन, रञ्जना लिपि विशेषज्ञ आनन्द कुमार महर्जनको फन्टसँग सम्बन्धित प्रस्तुति समेत रहेको थियो ।

रञ्जना फन्ट डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here