दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय छलफल गरिएको हो : रवि लामिछाने
१३ साउन, काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल बसेको बताएका छन् ।
बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले बैठक सरकारका कामकारबाहीको समीक्षा गर्नेभन्दा पनि समसामयिक घटनाक्रमबारे राजनीतिक दलका शीर्ष नेताबीच धारणा आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे ।
उनले बैठकमा राजनीतिक दलका नेतृत्वले पछिल्लो अवस्थाबारे आफ्ना धारणा, अनुभव र सुझाव प्रस्तुत गरेको बताए । ‘सरकारको समीक्षा गर्नेभन्दा पनि राजनीतिक दलका शीर्ष नेताबीच विद्यमान घटनाका विषयमा धारणा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक भएको हो,’ उनले भने ।
रास्वपाका तर्फबाट सरकारको प्रतिनिधित्वका रूपमा स्वर्णिम वाग्ले सहभागी भएको जानकारी दिँदै लामिछानेले राजनीतिक दलका रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न छलफल गरिएको बताए ।
उनका अनुसार सरकार आफ्नो जिम्मेवारीअनुसार प्रशासनिक र सुरक्षा निकायमार्फत आवश्यक काम गरिरहेको छ । सरकारसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको समाधान सरकारले आफ्नै प्रक्रियाबाट गर्ने उनको भनाइ थियो । ‘सरकारले आफ्नो ढंगले काम गरिरहेको छ । गृह प्रशासन र सुरक्षा निकायहरू आ–आफ्नो क्षेत्रमा सक्रिय छन् । अहिले नै दलहरूबीच सरकारलाई कुनै विशेष निष्कर्ष वा धारणा प्रस्तुत गर्नुपर्ने अवस्था छैन,’ उनले भने ।
लामिछानेले नेपालमा संवेदनशील परिस्थितिमा राजनीतिक दलहरू एक ठाउँमा उभिएर साझा धारणा सार्वजनिक गर्ने परम्परा रहेको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले कुनै पनि समुदायविरुद्ध घृणा, द्वेष वा आक्रमणको वातावरण सिर्जना भए त्यसबाट सम्पूर्ण देशलाई क्षति पुग्ने चेतावनी दिए ।
‘कुनै पनि साम्प्रदायिक गतिविधि, एउटा समुदायले अर्को समुदायप्रति घृणा फैलाउने वा आक्रमण गर्ने अवस्था आए त्यसले सबैलाई घाटा पु¥याउँछ । देश सबैको हो,’ उनले भने ।
रास्वपा सभापति लामिछानेले सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र एकता कायम राख्न राजनीतिक दल, सरकार र नागरिक समाज सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
For More: Rabi Lamichhane All party Discussion

