रास्वपाले भन्यो– मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने प्रयास स्वीकार्य छैन, निष्पक्ष छानबिन होस्
२९ असार, काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा रास्वपाले आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको उल्लेख गरेको छ ।
राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यमले निर्भीक रूपमा काम गर्न पाउने वातावरणमाथि धावा बोल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने पार्टीको भनाइ छ ।
रास्वपाले आफू सधैं पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको जनाएको छ ।
कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्ने गतिविधि अस्वीकार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको प्राणवायुको संज्ञा दिँदै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता गतिविधिको भत्र्सना गरेको छ ।
साथै, घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न पनि रास्वपाले आग्रह गरेको छ ।
विज्ञप्तिमा सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चार गृहको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता दोहोर्याएको छ ।
For More: Psychological Pressure On Media Unacceptable


