हुलाकलाई पुनर्संरचना गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्छः मन्त्री शर्मा 

Minister Rekha Sharma

२२ असोज, काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचनामार्फत मौजुदा साधनस्रोतको पूर्ण क्षमतामा परिचालन गरी नयाँ व्यवसायिक ढाँचामा लैजानुपर्ने बताउनुभएको छ ।

विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले आयोजना कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले समय र प्रविधिको विकाससँगै हुलाक सेवाको दायरा फराकिलो बनाउँदै जनताको दैनिक सेवा प्रवाहसँग जोड्नुपर्ने बताउनुभयो ।

हुलाक सेवालाई आधुनिक, प्रविधियुक्त, प्रतिष्पर्धी र भरपर्दो बनाउनुपर्नेमा जोड दिंदै उहाँले अब स्मार्ट हुलाकमार्फत विश्वमै प्रतिष्पर्धा गर्नसक्नुपर्ने बताउनुभयो । ‘सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती भएको छ’– मन्त्री शर्माले भन्नुभयो– ‘सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्याउने गरी सेवा प्रवाहका विन्दुहरू तय गरिएको थियो ।

विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम पुनःसंरचना गर्न आवश्यक देखिएको छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी ‘एक स्थानीय तह, एक हुलाक’ को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।

’ मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवालाई प्रभावकारी बनाउन नसकिने उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छ ।

त्यसका लागि आवश्यक प्रविधियुक्त संगठनात्मक पुनर्संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नु उत्तिकै आवश्यक रहेको छ । सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा ब्यापक सुधार ल्याउन पहल भइरहेको पनि यसै सन्दर्भमा जानकारी गराउन चाहन्छु ।’

विश्व र नेपालमै पनि हुलाक सेवाको इतिहास निकै लामो रहेको उल्लेख गर्दै उहाँले संसारका अन्य देशहरुले हुलाक सेवालाई परिमार्जित गर्दै यसलाई सूचना प्रविधिसँग जोडेर सरकारी सेवाको अनिवार्य अंग नै बनाइएको भए पनि नेपालमा भने यसलाई अझै पनि सरकारी निकायले नै ऐच्छिक सेवाको रुपमा प्रयोग गर्ने गरेकोमा यो अवस्थालाई बदलेर सम्पूर्ण सरकारी सामग्रीको ओसारपसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउनु आवश्यक रहेको बताउनुभयो ।

त्यसका लागि केही दिनअघि मात्रै सरकारले नीतिगत निर्णय गरिसकेको जानकारी पनि उहाँले दिनुभयो । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण जस्ता नागरिकका आधारभूत सेवा वितरण हुलाकबाट अनिवार्य गर्नेतिर योजना बनाउनुपर्ने बेला आएकोमा पनि मन्त्री शर्माले जोड दिनुुभयो ।

‘अब हुलाक सेवा कम्प्युटर, इन्टरनेट, सफ्टवेयर प्रणालीसहितको ट्रयाकिङ प्रणाली र डिजिटल प्लेटफर्मयुक्त हुनु जरुरी छ । देशभित्र र बाहिर इमेल प्रयोग गरी पत्र व्यवहार गर्न र सफ्टवेयर प्रयोग गरी विवरण अध्यावधिक गर्ने कार्यको थालनी गर्नु आवश्यक छ’– उहाँले भन्नुुभयो– ‘कुन हुलाक वस्तु कहिले पठाइएको हो र अहिले प्रापकले प्राप्त गर्नुभयो वा कहाँ पुग्यो भन्ने खालको ट्रयाकिङ प्रणाली प्रयोग आवश्यक छ ।

यसले नयाँ खालको हुलाक ठेगाना निर्धारण र त्यसलाई केन्द्रिकृत प्रणालीमा आबद्ध गर्न सहयोग गर्नेछ ।’ सरकारले यसै वर्षदेखि हुलाक वचत बैंक खारेज गरेर हुलाक वचत बैंकमा रहेका खाता र रकम जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हस्तान्तरण गरिएको जानकारी दिंदै उहाँले हुलाक वचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारवाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गरिने जानकारी गराउनुभयो।

world post office day

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here