सिटिजन लाइफ इन्स्योरेन्सका सीईओमा पुनः पोषकराज पौडेल नियुक्त
२१ मंसिर, काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोषकराज पौडेललाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई दोहोर्याउने निर्णय गरेको कम्पनी सचिव दिप बहादुर बि.सी.ले जानकारी दिएका छन्।
पौडेल २०७४ माघमा सिटिजन लाइफका सीईओ बनेका थिए। उनको हालको दोस्रो कार्यकाल पुस मसान्तमा सकिँदै गर्दा कम्पनीले निरन्तरता दिने निर्णय गरेको हो।
करिब तीन दशकदेखि बैंक, बीमा तथा वित्तीय क्षेत्रमा सक्रिय पौडेल बौद्धिक, स्वच्छ छवि र कुशल बीमा प्रशासकको रूपमा चिनिन्छन्। उनले आठ वर्षको अवधिमा सिटिजन लाइफलाई पुराना बीमा कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बलियो संस्थाको रूपमा उभ्याउन महत्वपूर्ण योगदान पुर्याएका छन्।
सिटिजन लाइफमा आउनुअघि पौडेल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेटलाइफ’मा वित्त प्रमुखका रूपमा कार्यरत थिए। त्रिभुवन विश्वविद्यालयबाट एमबीए र एसीएस तथा एफएलएमआई (यूएसए) अध्ययन पूरा गरेका उनले देश–विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन सम्बन्धी विभिन्न तालिमसमेत लिएका छन्।
नेपाली जीवन बीमा बजारमा दीगो विकासको लक्ष्य राखी अघि बढिरहेका पौडेलले आगामी दिनमा पनि कम्पनीलाई उच्च प्रतिफल र बीमितलाई आकर्षक बोनसदर प्रदान गर्दै नतिजामुखी भूमिकामा रहने विश्वास व्यक्त गरिएको छ।
For More:-Poshak Raj Paudel Reappointment




