परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
६ असोज, काठमाडौं।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने भएका छन् ।
उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर्ने उनको नीजि सचिवालयले जनाएको छ ।
अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम तय भएको छैन् । उनी बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन् ।
प्रधानमन्त्री शाहकी प्रेस सल्लाहकार दीपा दाहालले भनिन्,‘प्रधानमन्त्रीज्यूज दिनभर सिंहदरबारमै व्यस्त हुनुहुन्छ, महत्वपूर्ण भेटघाटहरु छन् । त्यसपछि ६ः२० बजे निवासबाट विमानस्थल प्रवेश गर्ने कार्यक्रम छ । ७ बजे कतार एयरवेजमार्फत न्यूयोर्क प्रस्थान गर्नुहुनेछ । अरु कार्यक्रमबारे मलाई डिटेलमा थाहा छैन ।’
विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम हुने गरेको भएपनि बालेनले त्यो परम्परा तोड्ने सचिवालय स्रोतको भनाइ छ ।
सामान्यत प्रधानमन्त्रीको विदाइमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरु विमानस्थल पुग्ने गरेपनि मंगलबार साँझ कसैलाई पनि निम्ता गरिएको छैन् ।
त्यस्तै, प्रधानमन्त्रीको विदाइमा नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा रहेको भएपनि अनरको समेत कार्यक्रम तय भएको छैन् । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रधानमन्त्रीका लागि औपचारिक कार्यक्रम नराखिएको जनाइएको छ ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसकेका छन् ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किनेछन् ।
For More: PM Shah Farewell Tradition

