स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै
३१ भदौ, काठमाडौं।
स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्त्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको पिंकवाक आगामी असोज १७ गते शनिबार (अक्टोबर ३, २०२६) बिहान ६ बजे सुरु हुनेछ ।
सहभागीहरूले काठमाडौंको वसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्नेछन् ।
आयोजकका अनुसार पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहनेछ ।
स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।
साथै, क्यान्सरको उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक हुन्छ भन्ने सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिनेछ ।
इन्फिनिट केयर्सका इकाइ प्रमुख दिजुप तुलाधरले पिंकवाकलाई केवल पदयात्रामा सीमित नराखी सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए ।
‘पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो । स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने ।
उनले सबैलाई पिंकवाक २०२६ मा सहभागी भई अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गरे ।
पिंकवाक २०२६ क्यान्सर केयर नेपाल, नेसनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा र ह्याप्पी माइन्ड्सलगायतको साझेदारीमा आयोजना हुँदै छ । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ ।
पिंकवाकको पहिलो संस्करण २०८० असोजमा सम्पन्न भएको थियो । उक्त संस्करणमा ६०० भन्दा बढी सहभागीले स्तन क्यान्सरसँग सम्बन्धित जानकारीमूलक सामग्रीसहित नक्सालको नारायणचौरदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए ।
यस अभियानको दोस्रो संस्करणले पनि स्तन क्यान्सरसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्तिलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।
इन्फिनिट केयर्स, इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालिको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन हुने सामुदायिक पहलमध्ये एक हो । इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालि बहुराष्ट्रिय आईटी सेवा तथा डिजिटल इन्जिनियरिङ क्षेत्रमा कार्यरत इन्फिनिट कम्प्युटर सोलुसन्सको नेपालस्थित सफ्टवेयर विकास तथा आईटी सेवा केन्द्र हो । कम्पनीका अनुसार यहाँ ६०० भन्दा बढी जनशक्ति कार्यरत छन् ।
नेपालमा इन्फिनिटले व्यवसाय र प्रविधिसँगै सामाजिक उत्तरदायित्व तथा सामुदायिक पहलमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यका साथ काम गर्दै आएको जनाएको छ । पिंकवाक पनि स्वस्थ, समावेशी र दिगो समाज निर्माणमा योगदान पुर्याउने यस्तै सामाजिक पहलअन्तर्गतको अभियान हो ।
क्यान्सर केयर नेपाल नेपालभर क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, रोकथाम, प्रारम्भिक पहिचान तथा क्यान्सर प्रभावित बिरामीलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले काम गर्ने गैरनाफामूलक संस्था हो ।
संस्थाले अस्पताल, स्वास्थ्यकर्मी, समुदाय तथा दातृ निकायसँग सहकार्य गर्दै व्यक्तिको बसोबास गर्ने स्थान वा आर्थिक अवस्थाका कारण क्यान्सरसम्बन्धी आवश्यक जानकारी, स्वास्थ्य परीक्षण तथा उपचारबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले काम गर्दै आएको जनाएको छ ।
For More: Pink Walk Breast Cancer Awareness

