व्यवसाय डिजिटल बनाउन ‘पठाओ कमर्स’ सुरु: च्याट, अर्डर र डेलिभरी एकै एपमा
२५ साउन, काठमाडौं।
पठाओ पार्सलमार्फत १२ हजारभन्दा बढी व्यवसायीलाई नेपालभर सामान डेलिभरी गर्न समन्वय गर्दै आएको पठाओले अब नेपाली अनलाइन व्यवसायीका लागि ‘पठाओ कमर्स’ नामक डिजिटल बिजनेस म्यानेजमेन्ट सिस्टम सार्वजनिक गरेको छ।
अनलाइन व्यापार गर्ने व्यवसायीलाई लक्षित गरेर ल्याइएको यो कमर्स मार्फत व्यवसाय गर्न सहज र सरल सिस्टमबाट ‘सिम्प्लीफाई योर अनलाइन बिजनेस’ भन्ने अवधारणाका साथ सार्वजनीक गरिएको हो । यसमार्फत व्यवसायीले सामाजिक सञ्जाल, अर्डर, इन्भेन्टोरी, वेवसाइट र डेलिभरी लगायत दैनिक व्यवसायीक कामहरु एउटै प्रणालीबाट व्यवस्थापन गर्न सक्नेछन् ।
पठाओ कमर्समार्फत हाल फेसबुक र व्ह्वाट्सएपका मेसेजहरु एउटै इनबक्समा ल्याएर ग्राहकसँग च्याट गर्दागर्दै अर्डर लिन सकिन्छ। आएको अर्डरलाई पठाओ पार्सलमार्फत नेपालभर डेलिभरी गर्न सकिनेछ। आगामी दिनमा इन्स्टाग्राम र टिकटक लाई समेत यसमा जोड्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, पठाओ कमर्सले च्याट देखि अर्डर लिने र डेलिभरी सम्मको प्रक्रियालाई एउटै प्रवाहमा जोड्ने सुविधा नेपालमा पहिलो पटक उपलब्ध गराएको हो। व्यवसायीले दराज एप, आफ्नै वेबसाइट तथा अन्य अनलाइन स्टोरलाई समेत पठाओ कमर्समा जोडेर विभिन्न माध्यमबाट आएका अर्डर र स्टक एउटै ड्यासबोर्ड बाट व्यवस्थापन गर्न सक्नेछन्। शपिफाई र वु-कमर्स जस्ता प्लाटफर्म पनि चाँडै जोडिने कम्पनीको भनाइ छ।
पठाओ कमर्समार्फत व्यवसायीले आफ्नो व्यापारका लागि निःशुल्क वेबसाइट बनाउन र आफ्नो अनलाइन स्टोरलाई पठाओ शपमा समेत लाइभ गर्न सक्नेछन्। वेबसाइट , सामाजिक संजाल तथा पठाओ शपबाट आएका अर्डरहरुलाई एउटै ठाउँबाट व्यवस्थापन गरी पठाओ पार्सलमार्फत डेलिभरी गर्न सकिनेछ।
विशेषगरी सामाजिक संजाल मार्फत व्यवसाय गर्ने व्यवसायीहरु, दराज एपका बिक्रेताहरु, साना तथा मझौला व्यवसाय तथा व्यवसाय-उन्मुख नेपाली ब्रान्डहरू लाई लक्षित गरिएको पठाओ कमर्समा पहिला १,००० वटा व्यवसायलाई चालु आर्थिक वर्षभर निःशुल्क उपलब्ध रहने छ भने नयाँ दर्तामा ३० दिनको नि:शुल्क ट्रायल उपलब्ध हुनेछ। त्यसपछि सेवा मासिक रु. ४,९९९ वा वार्षिक रु. ४९,९९९ मा प्रयोग गर्न सकिनेछ। कम्पनीका अनुसार, यस्तै प्रकारका डिजिटल सिस्टम को बजार मूल्य वार्षिक रु. १.५ लाखभन्दा बढी पर्ने गर्छ।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीका अनुसार, यो सिस्टमले नेपाली व्यवसायहरूको दैनिक सञ्चालनलाई सरल बनाउन र उनीहरूलाई डिजिटल युगमा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । ‘यो आगामी ५ वर्षमा नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउने हाम्रो लक्ष्यलाई साकार पार्न तर्फ एउटा कदम पनि हो।’ थकालीले बताए।
For More: Pathao Commerce Launches Nepal

