अनलाइन टिभी पत्रकार संघद्वारा नेपाली मिडियाका लागि ‘एआई आचारसंहिता’ सार्वजनिक: जिम्मेवार प्रयोगमा जोड

Online TV AI Code 2025
Share It On:

५ साउन, काठमाडौं।

नेपालमा सञ्चार क्षेत्रको तीव्र डिजिटल परिवर्तनसँगै कृत्रिम बौद्धिकता (एआई) को बढ्दो प्रयोगलाई व्यवस्थित र नैतिक बनाउन अनलाइन टिभी पत्रकार संघ (OTJA) नेपालले आज ‘अनलाइन टिभी एआई आचारसंहिता–२०८२’ सार्वजनिक गरेको छ।

यो आचारसंहिता नेपाली मिडियामा एआईको जिम्मेवार र नैतिक प्रयोग सुनिश्चित गर्नको लागि जारी गरिएको पहिलो मार्गदर्शन दस्तावेज हो।

संघको कार्यालय बिजुलीबजार, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त आचारसंहिता सार्वजनिक गरिएको हो। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष जीवन भट्टराईले गर्नुभएको थियो भने कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईटी नीति समन्वयक चिरञ्जीवी अधिकारी विशेष अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै विशेष अतिथि चिरञ्जीवी अधिकारीले नेपालको मिडियामा एआईको दुरुपयोग, विशेषगरी ‘डिपफेक’ प्रविधिबाट साँचो र झूटा समाचारबीचको सीमाना मेटिँदै गएकाले सशक्त नीतिगत र नैतिक ढाँचाको आवश्यकतामाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी मानव सिर्जनात्मकता र सत्यताका पक्षमा उभिनुपर्छ। एआई उपयोग गर्दा सत्य, जवाफदेहिता र मानवीय मूल्य नहराउने गरी प्रयोग गरिनु जरुरी छ।”

अधिकारीले ‘प्रम्प्ट इन्जिनियरिङ’ अर्थात् एआईलाई दिइने निर्देशन नै आजको कोड लेख्ने शैली भएको उल्लेख गर्दै भन्नुभयो, “प्रत्येक निर्देशनको शैलीले नतिजा निर्धारण गर्छ, त्यसैले मानिसको सिर्जनात्मकता अझै मूल शक्ति हो।” उहाँको भनाइले प्रविधि क्षेत्रका नेतृत्वकर्ता तथा नीति निर्माणकर्ताहरूलाई एआईको जिम्मेवार प्रयोगको आवश्यकता अझ गहिरो रूपमा महसुस गराउने विश्वास लिइएको छ।

आचारसंहिताका प्रमुख बुँदाहरू:

यो आचारसंहितालाई मुख्य चार खण्डमा विभाजन गरिएको छ, जसले नेपाली मिडियामा एआईको प्रयोगलाई निर्देशित गर्नेछ।

१. जवाफदेहिता र पारदर्शिता:

एआई आधारित सम्पूर्ण सामग्रीहरू अन्तिम रूपमा सम्पादकद्वारा मानव परीक्षणपश्चात मात्र सार्वजनिक गर्नुपर्नेछ। यसले सामग्रीको सत्यता र विश्वसनीयता सुनिश्चित गर्नेछ।

सामग्रीमा एआईको प्रयोग भएको स्पष्ट खुलासा अनिवार्य गरिएको छ, जसले पारदर्शिता कायम गर्नेछ।

एआईबाट उत्पन्न सामग्रीको सम्पूर्ण जिम्मेवारी व्यक्ति, सम्पादक वा संस्था स्वयंले लिनुपर्नेछ।

२. श्रम, शिक्षा र चेतना:

एआईले पत्रकारको दक्षता विकासमा सहयोग पुर्‍याउनुका साथै यसको प्रयोगले रोजगारमा नकारात्मक असर नपरोस् भन्ने सुनिश्चित गरिनेछ।

एआईको प्रयोग गर्दा कुनै पनि व्यक्तिको प्रतिलिपि अधिकार उल्लङ्घन नहोस् भनी विशेष सावधानी अपनाइनेछ।

नैतिक र जिम्मेवार एआई प्रयोगका लागि संघले सञ्चारकर्मी तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेल्नेछ।

३. सतर्कता र गुनासो सम्बोधन:

व्यक्तिगत गोपनीयता, चरित्रहत्या, अश्लीलता, सुरक्षा लगायतका संवेदनशील विषयमा जानकारी प्रवाह गर्दा प्रचलित कानुनको पूर्ण पालना गरिनेछ।

एआईको प्रयोगबाट भ्रम, पूर्वाग्रह र गलत सूचना नफैलाउने कुरामा विशेष ध्यान दिइनेछ।

दर्शक तथा श्रोताका गुनासोहरूलाई सम्बोधन गर्न स्पष्ट प्रक्रिया तोकिनुपर्नेछ। यदि गुनासोको समाधान सञ्चार माध्यमबाट नभएमा संघले आवश्यक अनुसन्धान र सिफारिस गर्न सक्नेछ।

४. पालना र परिमार्जन:

संघमा आबद्ध सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमहरूले यो आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

सदस्य संस्थाहरूले यो आचारसंहिता आफ्नो प्लेटफर्ममा सहजै देखिने गरी प्रकाशित गर्नुपर्नेछ।

यस आचारसंहितालाई समयको मागअनुसार आवधिक रूपमा समिक्षा गरी अभ्यास, अनुभव, सुझाव र प्रविधिको विकासका आधारमा आवश्यकता अनुसार परिमार्जन गरिनेछ।

यस आचारसंहितालाई संघको केन्द्रीय कार्यसमिति बैठकले २०८२ असार १९ गते औपचारिक रूपमा अनुमोदन गरेको हो।

हाल एआई नेपाली मिडियामा समाचार लेखन, अनुवाद, सम्पादन, ग्राफिक्स र भिडियो निर्माणसम्मको कार्यमा प्रयोग हुँदै आएको छ। यसले कामलाई सहज बनाएको भए पनि सत्यता, जवाफदेहिता र पत्रकारिताको मर्ममा चुनौतीहरू थपिरहेको सन्दर्भमा अनलाइन टिभी पत्रकार संघद्वारा सार्वजनिक गरिएको यो आचारसंहिता अत्यन्त उपयोगी र समयसापेक्ष पहल बन्ने अपेक्षा गरिएको छ। यसले नेपाली पत्रकारितालाई एआई युगमा थप विश्वसनीय र जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

For more: Online TV AI Code 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *