बाल स्वास्थ्य सुधारका लागि डा. भगवान कोइरालाको ‘किओच’ र एनआरएनएबीच सम्झौता
३ वैशाख, काठमाण्डौ।
नेपालमा बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार तथा अत्याधुनिक उपचार प्रणालीको विकासका लागि गैरआवासीय नेपाली संघ (NRNA) र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KiOCH) बीच एक महत्वपूर्ण सहकार्य सम्झौता भएको छ।
राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच किओचका अध्यक्ष प्रा. डा. भगवान कोइराला र संघका अध्यक्ष डा. हेमराज शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
यस सहकार्यमार्फत नेपालमा बालबालिकाको उपचार सेवा, चिकित्सकीय प्रविधि, विशेषज्ञ ज्ञान तथा अन्तर्राष्ट्रिय सहयोगलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
सम्झौता अनुसार, गैरआवासीय नेपाली संघले विश्वभर छरिएर रहेका नेपाली विज्ञ तथा डायस्पोरालाई किओचको अभियानसँग जोड्ने प्रमुख भूमिका निर्वाह गर्नेछ। यसअन्तर्गत विदेशमा रहेका नेपाली चिकित्सकहरूको ज्ञान, सीप र नवीन चिकित्सकीय प्रविधिलाई नेपालको बाल स्वास्थ्य क्षेत्रमा भित्र्याइनेछ।
साथै, बाल अस्पतालका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण, सर्जिकल सामग्री तथा अन्य स्वास्थ्य सामग्रीको सहयोग जुटाउन पनि एनआरएनएले समन्वय गर्नेछ।
विशेष गरी आर्थिक रूपमा विपन्न र कमजोर परिवारका बालबालिकाले उपचार अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले दुवै संस्थाले विशेष सहयोग कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्।
यसका अतिरिक्त स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, विशेषज्ञ आदान–प्रदान र विभिन्न स्वास्थ्यसम्बन्धी तालिमहरू समेत संयुक्त रूपमा सञ्चालन गरिने जनाइएको छ। डा. भगवान कोइरालाको नेतृत्वमा सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्य राखेको ‘किओच’ का लागि यो अन्तर्राष्ट्रिय सहकार्यले नयाँ ऊर्जा थपेको छ।
For More:-NRNA KiOCH Healthcare Partnership


