मेघाको मेगा प्रोजेक्ट: ३ अर्ब ५० करोड लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ खुल्दै
३१ वैशाख, काठमाडौं।
नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ (Norvic Integrated Cancer Institute ( NICI) स्थापना गर्ने घोषणा गरेको छ ।
नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको “एकै छानामुनि समग्र उपचार सेवा” को अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नर्भिकले उक्त संस्थानको स्थापना गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालमा आयोजित नर्सिङ अवार्ड कार्यक्रम समापनमा नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान स्थापनाको घोषणा गरेका थिए ।
करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने यो परियोजना करिब ३ वर्षभित्र सञ्चालनमा ल्याइने लक्ष्य राखिएको अस्पतालका निर्देशक मेघा चौधरीले बताइन् ।
क्यान्सर रोगको समग्र निदान, उपचार तथा अनुसन्धान एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित संस्थान स्थापना गर्न लागिएको निर्देशक चौधरीको भनाइ छ ।
‘विश्वस्तरका दिशानिर्देश अनुसार उन्नत प्रविधिको प्रयोग गर्दै यस संस्थानमा विश्वसनीय निदान सेवा, शल्यक्रिया, किमोथेरापी, रेडियसन थेरापी तथा उपशामक सेवा (प्यालियटिभ केयर) उपलब्ध गराइनेछ,’ निर्देशक चौधरीले भनिन् ।
उनका अनुसार संस्थानबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका क्यान्सर बिरामीहरूका लागि मेडिकल, सर्जिकल, रेडियसन, हेमाटोलोजी तथा जेरियाट्रिक सेवाहरू, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा प्रदान गरिने छ ।संस्थानमा अनुसन्धानात्मक र शैक्षिक गतिविधि समेत सञ्चालन गरिने निर्देशक चौधरीले जानकारी दिइन् ।
जस अन्तर्गत क्यान्सर मनोविज्ञान, जेनोमिक्स लगायत अन्य विशिष्टीकृत अनुसन्धान कार्य अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शिक्षण संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।
नर्भिकले आगामी दिनमा क्यान्सर उपचारमा विश्वव्यापी रूपमै भैरहेको नवीनतम प्रविधिको विकास र प्रयोगलाई नेपालमा समेत परिचित गराउन अमेरिका, सिंगापुर र भारतका अग्रणी क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रहरूसँग परस्पर सहकार्य गर्ने जनाइएको छ । संस्थान मार्फत चिकित्सक तथा वैज्ञानिकबीच प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदान गरिने निर्देशक चौधरीले बताइन् ।
‘नेपालमा एकीकृत र विस्तारित क्यान्सर उपचारको विश्वसनीय थलोको अभावका कारण उल्लेखनीय संख्यामा बिरामीहरू विदेश जान बाध्य छन् । यसबाट वर्षेनी अरबौं रुपैयाँ विदेशिने गरेको छ ।’ निर्देशक चौधरीले भनिन्, ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानको स्थापना पश्चात् यो निर्भरता घट्ने र स्वदेशमै विश्वस्तरीय क्यान्सर उपचार सेवा सहज हुने हाम्रो अपेक्षा छ ।’
यसै सन्दर्भमा संस्थानको आवश्यकता, सेवाको प्रकृति र भावी योजनाका विषयमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीसँग गरिएको कुराकानी:
नर्भिकले किन छुट्टै क्यान्सर उपचार केन्द्र स्थापना गर्न लागेको हो?
नेपालमा क्यान्सर उपचार लामो समयदेखि खण्डित (Fragmented) रूपमा उपलब्ध छ। बिरामी र उनीहरूका परिवारले अत्यन्तै संवेदनशील समयमा एकीकृत उपचारको अभावमा देश–विदेशका विभिन्न अस्पतालमा धाउनुपर्ने बाध्यता छ। नर्भिक एकीकृत क्यान्सर उपचार संस्थानको मुख्य उद्देश्य यही अभावलाई सम्बोधन गर्दै एकै स्थानमा एकीकृत र विस्तारित (Integrated and Comprehensive) क्यान्सर उपचार सेवा उपलब्ध गराउनु हो।
यस संस्थानले कस्ता सेवाहरू प्रदान गर्नेछ?
यस संस्थानले क्यान्सरसँग सम्बन्धित बहुआयामिक सेवाहरू एकै छानामुनि प्रदान गर्नेछ। यसमा मेडिकल, सर्जिकल, रेडियसन तथा हेमाटोलोजीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू समावेश हुनेछन्। विशेष कुरा के छ भने, यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि विशिष्टीकृत उपचार सेवा उपलब्ध हुनेछ।
नेपाली बिरामीहरू उपचारका लागि विदेश जानु बाध्यता हो कि रोजाइ जस्तो लाग्छ?
धेरैजसो अवस्थामा यो रोजाइभन्दा पनि बाध्यता हो। नेपालमा एकीकृत र विशिष्टीकृत क्यान्सर उपचार सेवा एउटै स्थानमा सहजै उपलब्ध नभएकाले बिरामीहरू बाध्य भएर विदेश जानुपरिरहेको छ। हामीले नेपालमै विश्वस्तरीय सेवा दिन सक्यौँ भने यो बाध्यता स्वतः हट्नेछ।
यसमा अन्तर्राष्ट्रिय सहकार्यको भूमिका कस्तो रहन्छ?
क्यान्सर जस्तो जटिल रोगको उपचारमा अन्तर्राष्ट्रिय सहकार्य अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यस्ता सहकार्यले हाम्रा चिकित्सकहरू र विश्वका अन्य विशेषज्ञ चिकित्सकहरूबीच ज्ञानको आदानप्रदान गर्न सघाउँछ। साथै, नयाँ प्रविधि र अनुसन्धानमा आधारित उपचार पद्धतिमा पहुँच सुनिश्चित गर्न यसले ठूलो भूमिका खेल्नेछ।
यो परियोजनाको लगानी र सञ्चालन अवधि कति छ?
प्रारम्भिक अनुमान अनुसार यस परियोजनामा करिब ३ अर्ब ५० करोड रुपैयाँ लगानी गरिनेछ। यदि सबै कुरा हाम्रो योजना अनुसार अगाडि बढेमा आगामी ३ वर्षभित्र यो संस्थान पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।
कतिपयले यसलाई व्यावसायिक परियोजनाका रूपमा मात्र हेर्न सक्छन्, यसमा तपाईंको धारणा के छ?
यो केवल व्यावसायिक परियोजना होइन, बरु हाम्रो दीर्घकालीन संस्थागत प्रतिबद्धता र देशप्रतिको जिम्मेवारी हो। हाम्रो मुख्य लक्ष्य भनेकै बिरामीको उपचारको गुणस्तर र निरन्तरता सुनिश्चित गर्नु हो। सर्वसाधारणको सहज पहुँच र नेपालको स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनु नै हाम्रो मूल ध्येय हो।
For More:-Integrated Cancer Care Institute


