श्वासनलीमा इमलीको दाना अड्किएका ७ वर्षीय बालकको नर्भिक अस्पतालमा सफल उपचार
९ भदौ, काठमाडौं।
फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ ।
बाराको कलैयाका बालकलाई आइतबार राति अक्सिजन सपोर्टसहित एम्बुलेन्समार्फत नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । गम्भीर अवस्थामा अस्पताल पुगेका उनलाई आकस्मिक कक्षबाट सोही राति आईसीयूमा लगेर उपचार सुरु गरिएको थियो ।
नर्भिकका वरिष्ठ कन्सल्टेन्ट पल्मोनोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञ डा. अच्युतभक्त आचार्य नेतृत्वको चिकित्सक टोलीले सोमबार बिहान ब्रोन्कोस्कोपीमार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालेको हो ।
उपचारमा संलग्न डा. आचार्यका अनुसार इमलीको दाना फोक्सोको देब्रेतर्फको श्वासनलीमा अड्किएर श्वासनली नै बन्द भएको थियो । दाना निकालिएपछि बालकको स्वास्थ्यमा सुधार हुँदै गएको उनले जानकारी दिए ।
‘इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रे भागले काम गर्नै छाडेको र सेतो भइसकेको थियो । बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,’ डा. आचार्यले भने, ‘सोमबार बिहान अड्किएको इमलीको दाना निकालेपछि बालकको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । संक्रमण भएर सेतो भइसकेको फोक्सोको देब्रे भाग पनि ठीक हुँदै गएको छ ।’
बालकका बुबाका अनुसार शुक्रबार साँझ करिब ७ बजे बालकले सामान्य रूपमा खाना खाएका थिए । सुत्ने समयमा पनि बुबाआमासँग कुराकानी गरेका थिए । तर, राति साढे १० बजेतिर उनलाई अचानक अत्यधिक खोकी लाग्यो ।
तीन पटकसम्म खोकेपछि बालकलाई सास फेर्न गाह्रो भयो । त्यसपछि आँखा पल्टाएर अर्धबेहोस अवस्थामा पुगेपछि उनलाई तत्काल कलैयास्थित सरकारी अस्पताल लगिएको थियो ।
अस्पतालमा अक्सिजन दिइए पनि अक्सिजनको मात्रा ४०–५० मात्रै देखिएको थियो । भेन्टिलेटरको सुविधा नभएको भन्दै अस्पतालले शुक्रबार राति ११ बजे उनलाई अर्को अस्पतालमा रेफर गरेको थियो । त्यतिबेलासम्म बालक बोल्न नसक्ने अवस्थामा पुगिसकेका थिए ।
त्यसपछि कलैयाकै अर्को निजी अस्पतालमा लगेर उनलाई भेन्टिलेटरमा राखियो । स्वास्थ्यमा सुधार नआएपछि बुबाले थप उपचारका लागि अर्को अस्पताल लैजाने निर्णय गरे । रेफर गर्नुअघि गरिएको छातीको एक्सरेमा फोक्सोको देब्रे भाग सेतो देखिएको थियो । चिकित्सकहरूले कडा निमोनिया भएको बताएका थिए ।
शनिबार बेलुका बालकलाई वीरगञ्जस्थित तेस्रो अस्पतालमा पुर्याएर आईसीयूमा राखियो । त्यहाँ पुगेपछि बालक केही बोल्न सक्ने भए पनि फोक्सोमा समस्या देखिनुको कारण भने पत्ता लागेको थिएन ।
आइतबारसम्म चिकित्सकहरूले एक्सरेमा फोक्सोको देब्रे भाग निमोनियाका कारण क्षति हुँदै गएको बताएका थिए । निमोनियाको कारण पत्ता लगाउन आइतबार साँझ गरिएको सिटी स्क्यानमा फोक्सोको देब्रे भागको श्वासनलीमा दानाजस्तो वस्तु देखिएपछि समस्या पहिचान भएको थियो ।
श्वासनलीमा बाह्य वस्तु अड्किएको पुष्टि भएपछि चिकित्सकहरूले थप उपचारका लागि बालकलाई काठमाडौं रेफर गरेका थिए । वीरगञ्जबाट अक्सिजन सपोर्टमै राखेर करिब चार घण्टामा काठमाडौं ल्याइएका बालकलाई आइतबार राति नर्भिकमा भर्ना गरिएको थियो ।
‘आफन्तहरूसँग सल्लाह गर्दा नर्भिकमा उपचार हुन्छ भनेपछि आइतबार राति नर्भिकको आकस्मिक कक्षमा लिएर आयौँ,’ बालकका बुबाले भने ।
उपचारपछि बालक होशमा आएर बोल्न थालेका छन् । उनका बुबाले पनि अब छोरालाई निको हुने आशा जागेको बताएका छन् ।
‘शुक्रबारदेखि तीन वटा अस्पताल धायौँ, बल्ल उपचार गरेर अहिले बाबु होशमा आइसक्यो,’ उनले भने, ‘अहिले बोल्न सक्ने भयो । अब त ठीक हुन्छ भन्नेमा ढुक्क भएका छौँ ।’
उपचारपछि बोल्न थालेका बालकले आफूले शुक्रबार दिउँसो नै इमली खाएको बुबालाई बताएका थिए । उनले बुबालाई ‘छिट्टै घर लैजानु’ भनेको पनि बुबाले जानकारी दिए ।
For More: Norvic Hospital Tamarind Seed

