नर्भिक अस्पतालले उत्कृष्ट नर्सलाई ‘डेजी अवार्ड’ प्रदान गर्ने, १० वर्ष सेवा गरेका २१ नर्स पनि सम्मानित हुँदै
२८ वैशाख, काठमाडौं।
नर्भिक इन्टरनेशनल हस्पिटलले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा आफ्ना उत्कृष्ट नर्सिङ कर्मचारीहरूलाई प्रतिष्ठित ‘डेजी अवार्ड’ (DAISY Award) बाट सम्मानित गर्ने भएको छ।
अमेरिकास्थित डेजी फाउन्डेसनसँगको विशेष सम्झौता र सहकार्यमा नर्भिकले भोलि (वैशाख २९ गते/मे १२) एक विशेष समारोहका बीच यो अवार्ड प्रदान गर्न लागेको हो।
नर्सिङ पेसामा आबद्ध कर्मचारीहरूको मनोबल उच्च राख्न र उनीहरूले बिरामीलाई प्रदान गर्ने निस्वार्थ सेवाको कदर गर्न अस्पतालले यो वर्षदेखि यो अवार्ड कार्यक्रम सुरु गरेको हो।
यस अवार्डका लागि अस्पतालले केही समयअघि नै मनोनयन खुला गरेको थियो, जसमा बिरामी, बिरामीका आफन्त, चिकित्सक र सहकर्मी कर्मचारीहरूले आफूलाई उत्कृष्ट लागेका नर्सहरूलाई सिफारिस गरेका थिए।
प्राप्त मनोनयनका आधारमा उत्कृष्ट ठहरिएका ४ जना नर्सिङ कर्मचारीहरूलाई यस वर्षको डेजी अवार्ड प्रदान गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिए।
“नर्सिङ पेसामा आबद्ध हाम्रा कर्मचारीहरूको मनोबल उकास्ने उद्देश्यले यस वर्षदेखि हामीले ‘डेजी अवार्ड’ कार्यक्रम सुरु गरेका छौं,” सीईओ मिश्रले भने, “यो अवार्डले नर्सिङ कर्मचारीहरूको आत्मबल बढाउन मद्दत पुग्ने र उहाँहरू आफ्नो सेवाप्रति अझ बढी समर्पित हुनुहुने विश्वास हामीले लिएका छौं।” उनले नर्सहरूको उचित सम्मानले अस्पतालको समग्र सेवा प्रवाहमा समेत सकारात्मक ऊर्जा प्रदान गर्ने कुरामा जोड दिए।
नर्सिङ पेसालाई प्राथमिकतामा राखेर उनीहरुको पारिश्रमिक र सेवासुविधा उत्कृष्ट बनाउने अस्पतालको रुपमा नर्भिकले आफ्नो छुट्टै पहिचानसमेत बनाएको सीईओ मिश्रले बताए ।
हाल विश्वका ४६ देशका करिब ७ हजार ९ सयभन्दा बढी स्वास्थ्य संस्थाहरू डेजी फाउन्डेसनसँग आबद्ध छन्, जसमा नर्भिकको यो सहकार्यले नेपाली नर्सहरूको दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसर पारेर नर्भिकले अस्पतालमा १० वर्षभन्दा बढी समयदेखि निरन्तर सेवा प्रवाह गरिरहेका २१ जना सिनियर नर्सिङ कर्मचारीहरूलाई पनि विशेष सम्मान गर्ने तयारी गरेको छ।
For More:-Norvic Hospital DAISY Award


