स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालको अनुगमन तीव्र
१६ असार, काठमाडौं ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ।
मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आइतबार वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ।
साथै, अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, सरसफाइ तथा सेवाको प्रभावकारिताबारे समेत निरीक्षण गरी आवश्यक सुधार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ, जसका कारण सेवाग्राहीले गुणस्तरीय औषधि सस्तो तथा सहज मूल्यमा प्राप्त गर्न सक्नेछन्।
मन्त्री मेहताको निर्देशनअनुसार ट्रमा सेन्टरले सोमबारदेखि नै सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ भने वीर अस्पतालमा समेत यही हप्ताभित्र सुलभ फार्मेसी सञ्चालनमा ल्याइने भएको छ।
यसैगरी, भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन टेकु अस्पतालमा सेवा काउन्टरको संख्या ३ बाट बढाएर ५ पुर्याइएको छ। प्रविधिको प्रयोगतर्फ, टेकु अस्पतालमा क्युआर (QR) प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ भने वीर अस्पताल र टेकुमा क्युआर प्रणालीमार्फत नै बिरामीले आफ्नो स्वास्थ्य रिपोर्टसमेत निकाल्न सक्नेछन्।
भौतिक तथा मानवीय क्षमता विकासतर्फ, वीर अस्पतालले आफ्नो केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका कार्य अघि बढाउनुका साथै त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरिरहेको पाइएको छ।
यसका साथै, बिरामीहरूसँग गरिने व्यवहारमा सुधार ल्याउन सबै अस्पतालहरूले आफ्ना कर्मचारीहरूका लागि सफ्ट स्किल (Soft Skill) तालिम सञ्चालन गरिरहेका छन्।
मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
For More: Nisha Mehta Hospital Monitoring


