एन आई सी एशिया बैंकद्वारा ललितपुरको सातकन्या आधारभूत विद्यालयलाई सहयोग
३ असार, काठमाडौं ।
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित श्री सातकन्या आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले विद्यार्थीहरूलाई विद्यालय पोशाक (युनिफर्म) प्रदान गरेको हो ।
हाल १०२ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको उक्त विद्यालयमा बुधबार (आषाढ ३ गते) एक विशेष कार्यक्रमका बीच पोशाकहरू हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सन्तोष कुमार राठीले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल र प्रधानाध्यापक राम प्रसाद घिमिरेलाई उक्त पोशाकहरू हस्तान्तरण गरेका हुन् ।
अरनिको एल्मुनाई एसोसिएसन, खुमलटारले सहजकर्ताको भूमिका निर्वाह गरेको सो हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिकाहरू, विद्यार्थीहरूका साथै बैंकका अन्य कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ प्राथमिकतामा राख्दै आएको एन आई सी एशिया बैंकले उपलब्ध गराएको यस सहयोगले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता थपिने विश्वास लिएको छ । साथै यस कार्यले विद्यालयमा उत्कृष्ट र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न ठूलो सहयोग पुग्ने बैंकले जनाएको छ ।
For More:-Nic Asia Bank CSR


