राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान लागू: मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्मको तलब कति?
२१ साउन, काठमाडौं।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत भएको घोषणा अनुसार सरकारले राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरूको नयाँ संशोधित तलबमान, ग्रेड र १० प्रतिशत प्रोत्साहन भत्ता साउन १ गतेदेखि नै लागू गरेको छ।
मन्त्रिपरिषद्को निर्णयबमोजिम अर्थ मन्त्रालयले साउन २० गते जारी गरेको परिपत्रमार्फत कार्यान्वयनमा आएको यो नयाँ व्यवस्था निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूमा लागू हुनेछ।
संशोधित तलब संरचनाअनुसार मुख्य सचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ भने सचिव, रथी, नेपाल प्रहरीका महानिरीक्षक र सशस्त्र प्रहरी बलका महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, सरकारी सेवाका तल्लो तहका श्रेणीविहीन कर्मचारी तथा कार्यालय सहयोगी (प्रथम स्तर) को मासिक तलब ग्रेडसहित २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ। यसैगरी, माध्यमिक तह (प्रथम श्रेणी) का शिक्षकको तलब ७४ हजार ९ सय ५८ रुपैयाँ, प्राथमिक तहका शिक्षकहरूको न्यूनतम तलब ३४ हजार ४ सय २६ रुपैयाँ र स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।
सरकारले तलब वृद्धिसँगै कर्मचारीलाई थप सुविधा पनि उपलब्ध गराउने भएको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक कर्मचारीले एक दिनको तलब बराबरको ग्रेड रकम प्राप्त गर्नेछन् भने संशोधित आधारभूत तलबको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पनि पाउनेछन्।
For More: New Salary Scale Public

