नयाँ राहदानी प्रणालीपछि सेवा सहज बन्दै, दैनिक दुई हजार आवेदन स्लट खुला
२२ साउन, काठमाडौं।
परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली लागू भएसँगै राहदानी सेवा क्रमशः सहज, व्यवस्थित र नागरिकमैत्री बन्दै गएको जनाएको छ।
मन्त्रालयले दैनिक दुई हजारसम्म राहदानी आवेदनको स्लट खुला गरिएको र सोही हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको जानकारी दिएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी सेवा सुधारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए।
उनका अनुसार नयाँ प्रणाली लागू भएसँगै राहदानीका लागि आवेदन दिने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको छ। सोही चापलाई व्यवस्थापन गर्न विभागले दैनिक दुई हजारसम्म आवेदन फाराम खुला गर्दै आएको र सोही संख्याको हाराहारीमा राहदानी छपाइ तथा वितरण भइरहेको छ।
उनले भने,‘राहदानीका लागि आवेदन दिनेको बढ्दो चापलाई मध्यनजर गरी राहदानी विभागले दैनिक दुई हजारसम्मको सङ्ख्यामा आवेदन फारम खुलाएको र सोही सङ्ख्याकै हाराहारीमा राहदानी छपाई तथा वितरण कार्य भइरहेको छ। दैनिक रूपमा तोकिएको स्लटमा आवेदन गर्न असमर्थ तर कुनै खास इमर्जेन्सी जस्तै मेडिकल इमर्जेन्सी, अर्जेन्ट ट्राभल रिक्वायरमेन्ट जस्तो परेको सेवाग्राहीले सोझै विभागमा सम्पर्क गरेमा विभागबाट अवस्था हेरी सोही दिन राहदानी लिन सक्नेसम्मको व्यवस्था मिलाइएको छ। साथै सेवा प्रवाहलाई अझ बढी व्यवस्थित र नागरिक मैत्री बनाउन राहदानी विभागले दुई सिफ्टमा सेवा प्रदान गरिरहेको छ।’
प्रवक्ता क्षेत्रीले आकस्मिक अवस्थामा राहदानी आवश्यक परेका नागरिकका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए।
उनले भने, ‘दैनिक रूपमा तोकिएको स्लटमा आवेदन गर्न नसकेका तर मेडिकल इमर्जेन्सी वा अत्यावश्यक यात्राजस्ता विशेष कारण भएका सेवाग्राहीले विभागमा सिधै सम्पर्क गरेमा अवस्था हेरेर सोही दिन राहदानी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।’
राहदानी सेवा थप प्रभावकारी बनाउन विभागले हाल दुई सिफ्टमा सेवा सञ्चालन गरिरहेको र पछिल्लो सातादेखि शनिबार तथा आइतबार पनि सेवा प्रवाह गरिएको उनले बताए। यसबाट सेवाग्राहीको चाप व्यवस्थापन गर्न सहयोग पुगेको मन्त्रालयको विश्वास छ।
प्रवक्ता क्षेत्रीका अनुसार हाल देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, १३ वटा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३३ वटा नेपाली नियोगबाट राहदानी आवेदन सेवा सञ्चालन भइरहेको छ। साथै थप ६ वटा नेपाली नियोगमा जुनसुकै समयमा बायोमेट्रिक (एनरोलमेन्ट) गर्न सकिने व्यवस्था मिलाउने तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
उनले नयाँ प्रणालीमार्फत हालसम्म २५ हजारभन्दा बढी राहदानी छापिसकिएको जानकारी दिँदै प्रारम्भिक चरणमा देखिएका केही प्राविधिक समस्या समाधानका लागि सम्बन्धित प्राविधिक टोली निरन्तर खटिएको बताए।
उनले भने, ‘हाल प्रणाली स्थायित्व (स्टेबिलाइजेसन) को चरणमा रहेकाले केही प्राविधिक समस्या देखिनु स्वाभाविक हो। ती समस्याको समाधानका लागि सम्बन्धित प्राविधिक टोली निरन्तर काम गरिरहेको छ र सेवा प्रवाहलाई अझ सहज तथा नागरिकमैत्री बनाउने प्रयास जारी छ।’
मन्त्रालयले राहदानी सेवासम्बन्धी सही सूचना र जनचेतना फैलाउन सञ्चारमाध्यमले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि नागरिकलाई सही सूचना प्रवाहमा सहयोग गर्न आग्रह गरेको छ।
For More: New Passport System Slots

