८ चैत २०७९, काठमाडौं।
अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ ।
नयाँ वर्ष २०८० पश्चात बैशाख महिना देखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुनेछ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र भन्छन्, ‘सबै संरचना निर्माणको कार्य पुरा भइसकेको छ। बैशाख देखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ ।
हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतीक्षामा छौ ।
युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन् र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने छ ।
दैनिक रुपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ । त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने छन् ।
बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ ।
अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट र ग्रिज उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन् ।
उक्त उद्योग स्थापनाका लागि करिव ५० करोड रुपैयाँ लागत लाग्ने छ । एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफ भन्छन्, ‘हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका छौ ।
बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेको र अझै पनि लगानीयोग्य रकमको खोजी गरिरहेको उनको भनाइ छ ।
नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्री समेत कम्पनी आफैले उत्पादन गर्नेछ । बजारमा २५० एमएल देखि २१० लिटर सम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ ।
नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भए पश्चात पहिलो चरणमा करिव ५० जनाले रोजगारी पाउने छन् । यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसर समेत हुनेछ ।