आईएई नेपालको अध्यक्षमा सुशिल तण्डुकार
१६ फागुन २०७७, काठमाडौं ।
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको अध्यक्षमा सुशिल तण्डुकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आईएई नेपालको तेस्रो साधारण सभाले उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् ।
आईएई नेपालको सल्लाहकारमा पूर्वमन्त्री गणेश साहका साथै राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास छन् ।
नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्डका गाडी निर्माता कम्पनीका सर्भिस सेन्टर र वर्कसपहरुमा कार्यरत अटोमोबाइल तथा मेकानिकल इन्जिनियरहरुको संस्थाको रुपमा आईएई नेपाल क्रियाशील छ ।
Advertisement
मधुसूदन सिग्देलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको सो कार्यक्रममा विभिन्न बक्ताहरुले सडक सुरक्षामा सुधार ल्याउनुका साथै अटोमोबाइल मेकानिक्स पेशालाई व्यवस्थित ढंगले अगाडि बढाउनमा आईएईले नेतृत्व गर्ने र यसमा विभिन्न कम्पनीका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ तथा सरकारी निकायको संयुक्त प्रयासले यो सबै सम्भव हुने धारणा राखेका थिए ।
सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का भाइस चान्सलर सुनिलबाबु श्रेष्ठ, युनेस्को नेसनल कमिसन नेपालका डेपुटी सेक्रेटरी बाबुराम अधिकारी, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराई, इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, राष्ट्रिय शहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठ, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने र काठमाडौं युनिभर्सिटीका स्टुडेन्ट वेलफेयर डाइरेक्टरेटका डाइरेक्टर डा. बिमप्रसाद श्रेष्ठले अटोमोटिभ इन्जिनियरहरुले नेपाली सडकलाई सुरक्षित राख्नका लागि खेल्नु पर्ने भूमिका र आफूहरुले गर्न सक्ने सहयोगका वारेमा चर्चा गरेका थिए ।
आईएई नेपालमा हाल संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । त्यसैगरी अन्य विभिन्न संस्थासँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको छ । आईएईले रोड साइड असिस्टेन्ट सर्भिसको लागि त्यधष्लन त्चगअप सञ्चालन गरेको छ । जसले बाटो भन्दा बाहिर फसेको, विग्रेको तथा दुर्घटना भएको गाडीलाई सजिलैसँग निकालेर सेवाग्राहीले चाहेको स्थानमा पु–याउने गर्छ।
इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपाल, नेपालमा अटोमोटिभ, मेकानिकल, इण्डष्ट्रियल तथा एरोनोटिकल इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित पेशागत संस्था हो ।
यसले अटोमोटिभ इन्जिनियरिङ क्षेत्रको अन्तर्राष्ट्रिय महासंघ फिसिटा तथा सोसाइटी अफ अटोमोटिभ इन्जिनियरिङ (एसएई) इन्डिया, चाइना, युएसए तथा इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियरिङ सिलोन जस्ता संघ र महासंघसँग समेत बिगत लामो समय देखि सहकार्य गर्दै आइरहेको छ ।

