शेयर बजार सामान्य अंकले घट्यो, ४ अर्ब ७६ करोडभन्दा बढीको कारोबार
आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ दशमलव ८२ अंकले घटेर २,५९८.८९ विन्दुमा कायम भएको छ। बजारमा नीतिगत सुधारका प्रयास र लाभांश सिजन सुरु भए पनि लगानीकर्ताको मनोबलमा अपेक्षित सुधार आउन नसक्दा बजारमा दबाब देखिएको छ।
आज दिनभरिमा ३५२ कम्पनीको १ करोड २६ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीहरूमध्ये १०९ वटाको शेयर मूल्य बढेको छ भने १५७ वटाको घटेको छ, साथै १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। यस दिन जलविद्युत, म्युचुअल फण्ड र व्यापार समूह बाहेक अन्य १० वटै उपसूचक राताम्य भएका छन्। आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको ३९ करोड ४८ लाख रुपैयाँ र पिपुल्स हाइड्रोपावरको २२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
सरकार र नियमनकारी निकायले बजार सुधारका लागि विभिन्न पहल अघि बढाए पनि ठूला लगानीकर्ताको सक्रियता अझै कमजोर रहेको बजार सहभागीहरूको भनाइ छ। चाडपर्व नजिकिँदै गर्दा खर्च व्यवस्थापनका लागि शेयर बिक्री गर्ने प्रवृत्ति र हालैका बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिले समेत बजारमा प्रभाव पारेको छ। नीतिगत सुधार, लाभांश घोषणा र कतिपय कम्पनीको शेयरमूल्य आकर्षक तहमा पुगे पनि समग्र बजारप्रतिको अनिश्चितताले गर्दा तत्कालै बजारमा बलियो सुधार आउन चुनौती थपिएको छ।
For More: NEPSE Stock Market Drops

