‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न

नेपालमै पहिलो पटक साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानका के कस्ता अवसरहरु रहेका छन् भन्ने विषयमा एक दिने कन्फ्रेन्स आयोजना गरिएको छ । साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभसन नेपाल (सिएसआइआर)को आयोजनामा काठमाडौंको टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा भएको सो सेमिनारमा साइबर सेक्युरिटी र आइटी विषयमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विषय विज्ञहरुले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. सुवर्ण शाक्यले वर्तमान साइबर सुरक्षाको व्यवस्थापन र यो क्षेत्रको विस्तार एवं प्रवद्र्धन गर्न राष्ट्रिय तहको साइबर सेक्युरिटी पोलिसी आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले सूचना प्रविधिको विकाससँगै सूचना सुरक्षाको जोखिम पनि बढिरहेको बताउनु भयो । ‘प्रविधिको सदुपयोग मात्रै होइन, दुरुपयोगका घटना पनि दिनप्रतिदिन भइरहेका छन् । यसलाई रोक्न नीतिगत ढंगबाटै पहल हुनुपर्छ,’ प्रा.डा. शाक्यले भन्नुभयो । अहिले सफ्टवेयर सेवाको रुपमा विकसित भइरहेको धारणा राख्दै क्वालिटी सफ्टवेयर डेभलपमेन्टमा जोड दिन सके जोखिम न्यूनिकरणमा सहयोग पुग्नेसमेत बताउनु भयो ।


उहाँले साइबर सेक्युरिटीसम्बन्धी धेरै विषयमा अनुसन्धान गर्न सकिने जानकारी दिदै भन्नुभयो, ‘विद्यार्थीले स्पेसलाइज्ड भएर कुनै टपिकमा आफ्नो रिसर्च एरिया बनाउनुपर्छ । यससम्बन्धी नीतिगत व्यवस्था, साइबर सेक्युरिटीसम्बन्धी पूर्वाधारको अवस्था, साइबर अपराध र यससम्बन्धी समस्या, जनशक्तिको अवस्था लगायत धेरै विषयमा अनुसन्धान गर्न सकिन्छ । राम्रो रिसर्चर बन्न वा विज्ञ हुन यस्ता कुरामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अध्ययन अनुसन्धान गर्न जरुरी छ ।’
कन्फ्रेन्समा नेपाल प्रहरीका एसएसपी नवीन्द्र अर्यालले साइबर सेक्युरिटीमा अवसर, सनराइज बैंककी सिनियर आइटी अफिसर दिव्य तारा शाक्यले बैंकिङ क्षेत्रमा साइबर सेक्युरिटी, स्मार्ट सिटी विज्ञ हेमन्त बरालले स्मार्ट सिटी र आइसिटीको भूमिका र बिमिा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले अनुसन्धान पद्धति विषयमा कार्यपत्र प्रस्तुत एवं सहभागीलाई सहजीकरण गर्नुभएको थियो ।
साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभसन नेपाल (सिएसआइआर)का अध्यक्ष चिरञ्जिवी अधिकारीले नेपालमा साइबर सेक्युरिटीसम्बन्धी रिसर्चको कल्चर सुरुवात गर्न आफ्नो संस्थाले कार्यक्रम सुरुवात गरेको जानकारी दिनुभयो । ‘साइबर सेक्युरिटीसम्बन्धी बृहत् अनुसन्धान भएकै छैन । हचुवाको भरमा हामीले जोखिम छ भनिरहेका छौं । यससम्बन्धी तथ्यपरक जानकारी हुने हो भने हामीलाई थप कार्यक्रम ल्याउन सजिलो हुन्छ । यसर्थ यो क्षेत्रमा अनुसन्धानका कार्य अगाडि बढाउन र इन्डस्ट्री र एकाडेमियाबीचको सम्बन्ध बढाउन हाम्रो संस्थाले योजनाबद्ध कार्यक्रम ल्याउने छ,’ उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here