खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
१५ जेठ, काठमाडौं।
सरकारले खेलकुद क्षेत्रमा रु ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । बजेटमार्फत १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिने तथा प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिने घोषणा गरिएको छ ।
विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा दुई हजार दर्शक क्षमता भएका इनडोर मल्टिपर्पोज स्टेडियम तीन वर्षभित्र निर्माण गरिने जनाइएको छ ।
त्यस्तै, मुलपानी क्रिकेट रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला तथा फाप्ला क्रिकेट रङ्गशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गरिने बजेटमा उल्लेख छ ।
सरकारले खेलकुदमा विशेष क्षमता भएका विद्यार्थीलाई विद्यालय तहदेखि छनोट गरी आवासीय सुविधासहित प्रशिक्षण दिने तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ ।
सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद तथा मधेस प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पनि बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।
For More:-Nepal sports budget allocation


