नेपाल मेडिसिटीद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा औषधि सहयोग
२३ भदौ, काठमाडौं।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सडक तथा यातायातका मार्गमा ठूलो क्षति पुगेपछि रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य सेवा पुर्याउन चुनौती देखिएको छ। विपद्का कारण प्रभावित समुदायमा स्वास्थ्य सेवाको आवश्यकता बढिरहेका बेला नेपाल मेडिसिटीले औषधि सहयोग उपलब्ध गराएको छ।
नेपाल मेडिसिटी, नेपाल मेडिसिटी लायन्स क्लब र गैरआवासीय नेपाली संघ (NRNA) को संयुक्त टोलीले चुनौतीपूर्ण परिस्थितिका बीच त्रिशूली अस्पताल, नुवाकोट पुगेर अस्पतालको आवश्यकताअनुसार औषधि हस्तान्तरण गरेको हो।
नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरको नेतृत्वमा गएको टोलीमा निर्देशक कृति महतो, युक्ति महतो, मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणा, नेपाल मेडिसिटी लायन्स क्लब तथा NRNA का प्रतिनिधि, चिकित्सक र नर्सहरू सहभागी थिए।
बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थाहरूलाई आवश्यक औषधि उपलब्ध गराउनु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा भएको नेपाल मेडिसिटीले जनाएको छ। विपद्को समयमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै प्रभावित समुदाय र स्वास्थ्य संस्थासँग सहकार्य गर्ने प्रयासलाई प्राथमिकता दिइएको अस्पतालको भनाइ छ।
नेपाल मेडिसिटीले स्वास्थ्य सेवा अस्पतालको सीमाभित्र मात्र नभई आवश्यकता परेको समयमा समुदायस्तरसम्म पुर्याउने उद्देश्यअनुरूप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
विपद्को कठिन समयमा स्वास्थ्य संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउँदै प्रभावित समुदायसम्म स्वास्थ्य सेवा पुर्याउने कार्यमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि नेपाल मेडिसिटीले व्यक्त गरेको छ।
For More: Nepal Mediciti Flood Support

