नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाको आवासीय भवन निर्माणका लागि सहयोग
३ साउन, काठमाडौं।
नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दृष्टिविहीन बालबालिकाको लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले काठमाडौँ राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनलाई उक्त सहयोग उपलब्ध गराएको हो।
नवनिर्मित यस आवासीय भवनले ६० जनासम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण बसोबासको वातावरण प्रदान गर्नेछ। यसअघि सानो भाडाको घरबाट सीमित स्रोत–साधनका बीच सेवा सञ्चालन गर्दै आएको फाउन्डेसनलाई यो सहयोगले नयाँ भवन सञ्चालनमा ल्याउन र आफ्नो सेवा विस्तार गर्न ठूलो मद्दत पुग्नेछ।
नयाँ भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू समावेश गरिएका छन्। यस भवनको निर्माणसँगै दृष्टिविहीन बालबालिकाहरूलाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार भएको छ।
यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले व्यावसायिक सफलतालाई मात्र नभई समाजमा पार्ने सकारात्मक प्रभावलाई पनि वास्तविक सफलताको मापदण्ड मान्दै आएको बताए। उनले भने, “त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा तथा आत्मनिर्भर जीवनतर्फ अग्रसर हुने अभियानमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ।”
जिम्मेवार व्यावसायिक अभ्यास गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सले जीवन सुरक्षासँगै देशको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
For More: Nepal Life Insurance Support


