मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने
१५ कात्तिक, काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ ।
महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा मेला गर्न लागेको हो ।
महासंघका अनुसार मेला मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक वर्ष आयोजना हुँदै आएको यो मेला नेपालको व्यापार प्रवद्र्धनका लागि महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ । यस वर्ष आयोजना हुने मेला यसको एघारौँ संस्करण हो ।
मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायतका मुलुकको सहभागिता रहनेछ । साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रसहित चीन, कोरिया, जापानलगायतका मुलुकका सम्भावित खरिदकर्तालाई समेत मेलामा आमन्त्रण गरिएको महासंघले जनाएको छ ।
मेलामा दुई सयभन्दा बढी प्रदर्शनी कक्षमार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शन गरिनेछ । नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिँदै ‘नेपालमा उत्पादित वस्तु’ नामक छुट्टै कक्ष तथा विभिन्न वस्तुगत संघका उत्पादनका लागि समेत छुट्टाछुट्टै कक्ष राखिनेछ ।
नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको महासंघले जनाएको छ । नेपाल व्यापार एकीकरण रणनीतिले विशेष रूपमा पहिचान गरेका निर्यातयोग्य वस्तुको उत्पादन तथा निर्यात वृद्धि गर्न सहयोग पु¥याउने लक्ष्यसमेत मेलाले लिएको छ ।
मेलामा अलैंची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिना, गलैंचा, कफी, नेपाली कागज तथा कागजजन्य वस्तु, तयारी पोसाकलगायत निर्यातको सम्भावना भएका नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ ।
मेलाको प्रमुख आकर्षणका रूपमा नेपाली हस्तकलाका उत्पादन, विभिन्न वस्तुगत संघका उत्पादन तथा विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै प्रदर्शनी कक्ष रहनेछन् । साथै अन्तर्राष्ट्रिय खरिदकर्तासँग नेपाली व्यवसायीको प्रत्यक्ष अन्तरक्रिया गराउने कार्यक्रमसमेत तय गरिएको महासंघले जनाएको छ ।
नेपाली र चिनियाँ व्यवसायीबीच प्रत्यक्ष व्यापारिक अन्तरक्रियाको कार्यक्रमसमेत आयोजना गरिनेछ । विभिन्न मुलुकबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट गरी द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीका विषयमा छलफल गरिने महासंघले जनाएको छ ।
मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि, व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा लगायतका विभिन्न क्षेत्रका छुट्टाछुट्टै प्रदर्शनी कक्ष रहनेछन् ।
यस वर्षको मेलामा स्वदेशी तथा विदेशी गरी करिब १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महासंघले मुलुकका विभिन्न प्रदेश, जिल्ला तथा वस्तुगत क्षेत्रमा आयोजना हुने मेलाबाट उत्कृष्ट उत्पादन तथा प्रदर्शनी कक्ष छनोटगरी नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क प्रदर्शनी कक्ष उपलब्ध गराउने तयारीसमेत गरेको जनाएको छ ।
महासंघका अनुसार विभिन्न जिल्लामा आयोजना भएका व्यापार तथा औद्योगिक मेलाबाट उत्कृष्ट उत्पादन र प्रदर्शनी कक्षलाई राष्ट्रियस्तरको यस मेलामा सहभागी गराउँदा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्नेछ ।
For More: Nepal International Trade Fair

