सरकारी अस्पतालमा पनि साताको दुई दिन बिदा: शनिबार र आइतबार ओपिडी सेवा बन्द हुने
३ वैशाख, काठमाण्डौ।
सरकारले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न १४ वटा पेसागत संगठनहरूबीच भएको छलफलपछि अब सरकारी अस्पतालहरूमा पनि अन्य सरकारी कार्यालय सरह शनिबार र आइतबार दुई दिन बिदा दिइने भएको हो।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गतेदेखि नै सबै सरकारी कर्मचारीलाई साताको दुई दिन बिदा दिने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले बिरामीको चापलाई ध्यानमा राख्दै आइतबार पनि ओपिडी सञ्चालन गर्ने अडान लिएको थियो।
तर, स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा दिन नसकिने र ‘ग्लोबल प्राक्टिस’ पनि दुई दिने बिदा नै रहेको भन्दै नेपाल चिकित्सक संघ लगायतका संगठनहरूले आन्दोलनको चेतावनी दिएपछि मन्त्रालय पछि हटेको हो।
स्वास्थ्य मन्त्री निशा मेहता, सचिव डा. विकास देवकोटा र कर्मचारी संगठनका प्रतिनिधिहरूबीच भएको वार्तापछि यो सहमति जुटेको हो। ओपिडी सेवा दुई दिन बन्द भए पनि आकस्मिक (Emergency) र अन्तरङ्ग (Inpatient) सेवाहरू भने २४ सै घण्टा सुचारु रहनेछन्।
मन्त्रालयले अस्पतालको आकस्मिक सेवाको क्षमता थप बढाएर लैजाने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आइतबारका लागि पहिले नै तय भइसकेका शल्यक्रिया (Surgery) र अन्य स्वास्थ्य प्रक्रियाहरूको हकमा भने अस्पतालहरूले क्रमशः व्यवस्थापन गर्दै जानुपर्नेछ।
यदि अन्य बारमा व्यवस्थापन गर्न नसकिएमा त्यस्ता शल्यक्रियाहरू आइतबार पनि सञ्चालन गरी सेवा दिनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले छिट्टै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।
For More:-Nepal hospital weekend holiday


