नेपाल सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत, विद्यालय कर्मचारीको तलब पनि बढ्यो
३ भदौ, काठमाडौं।
सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनले भने,‘ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत भएको छ।’
बैठकले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक वृद्धि गर्ने पनि निर्णय गरेको छ।
उनले भने,‘शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावअनुसार प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु ५ हजारका दरले वृद्धि गर्ने निर्णय भएको छ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकार र साउदी अरेबियाबिच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिइएको छ।
त्यस्तै,माध्यमिक तह कक्षा ९–१० र आधारभूत तह कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय पनि गरेको छ।
उनको अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।
यस्तै परराष्ट्र मन्त्रालयअन्तर्गत एसियन डिजास्टर प्रिपेडनेस सेन्टरको सब(सेन्टर शाखा नेपालमा स्थापना गर्न स्वीकृति दिने निर्णय भएको उनले जाकारी दिए ।
गृह मन्त्रालयको प्रस्तावमा २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्टको १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय पनि भएको छ।
For more: Nepal Cabinet Software Committee Formed

